एजेन्सी । कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले विश्वकप छनोट खेलमा सानदार जित निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोलले हरायो ।
अर्जेन्टिनाको जितमा ह्याट्रिक पूरा गरेका मेस्सीले १४औं, ६४औं र ८८औं मिनेटमा गोल गरेका थिए । जितसँगै अर्जेन्टिना दोस्रो स्थानमा छ । अर्जेन्टिनाले आठ खेलबाट १८ अंक बनाएको छ । शीर्षस्थानमा रहेको ब्राजिलको २४ अंक छ । शुक्रबार बिहानै भएको अर्को खेलमा ब्राजिलले पेरुलाई २–० गोलले हराएको छ ।
ब्राजिलको जितमा इभर्टन रिबेरियोले १५औं र सुपरस्टार नेमारले ४०औं मिनेटमा गोल गरे । अर्को खेलमा तेस्रो स्थानमा रहेको उरुग्वेले इक्वेडरलाई १–० गोलले हराएको छ । उरुग्वेको जितमा कास्टोन पेरेइरोले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । कठिन जितसँगै उरुग्वेले १५ अंक बनाएको छ ।
अर्को खेलमा पाराग्वेले भेनेजुएलालाई २–१ गोलले पराजित गरेको छ । शुक्रबारको नतिजासँगै चौथो स्थानमा रहेको इक्वेडर र पाँचौं स्थानमा रहेको कोलम्बियाको समान १३ अंक छ । ११ अंक बनाएको पाराग्वे छैटौं, आठ अंकका साथ पेरु सातौं, सात अंक बनाएको चिली आठौं, ६ अंक बनाएको बोलिभिया नवौं र चार अंक बनाएको भेनेजुएला १०औं स्थानमा छ ।