काठमाडौं । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय मैत्रीपूर्ण क्रिकेट शुक्रबार साँझ हुँदैछ । ओमानको मस्कटमा दिवा–रात्री खेल हुन लागेको हो ।
नेपाली टोलीले पहिलो पटक एकदिवसीय क्रिकेटमा दिवा–रात्रि खेल खेल्न लागेको हो । यसअघि नेपाली टोलीले टीट्वान्टी खेल मात्र दिवा–रात्रि खेलेको थियो । पीएनजी र नेपालको खेल साँझ ४ः०० बजे सुरु हु्नेछ ।
नेपालले पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको थियो । त्यसैले नेपाल लगातार दोस्रो जित निकाल्दै शिरिज जित्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिएका थिए । रोहित पौडेलले सर्वाधिक ४१ रन बनाएका थिए ।
नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि पीएनजीसँग सिरिज खेलेको हो ।
पीएसजीसँगको खेलपछि नेपाली टोलीले आईसीसी विश्वकप क्रिकेट लिग–२ को खेल ओमानमै खेल्नेछ । लिग–२ सिरिज भदौ २८ देखि असोज ४ गते सम्म ओमानको मस्कटमा हुनेछ । हरेक टोलीले अर्को टिमसँग दुई दुई खेल खेल्नेछन् ।
लिग–२ मा नेपालले यसअघि घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । चार खेलबाट चार नै अंक बनाएको नेपाल छैटौं स्थानमा छ । १० खेल खेलेको ओमान १६ अंक सहित शीर्ष स्थानमा छ । १२ खेलबाट १२ नै अंक बनाएको अमेरिका दोस्रो स्थानमा छ ।