एजेन्सी । पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो ‘डेब्यू’ खेलमै चम्किएपछि इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले न्युक्यासल युनाइटेडलाई ४–१ गोलले हरायो ।
घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडलाई जिताउन रोनाल्डोले दुई गोल गरे । १२ बर्षपछि युनाइटेड फर्किएका रोनाल्डोले ‘डेब्यु’ खेलमै तहल्का मच्चाएका हुन् । पहिलो हाफको इन्जुरी समयमा खाता खोलेका उनले दोस्रो गोल ६२औं मिनेटमा गरेका थिए । ब्रुनो फर्नान्डेजले ८०औं र जेसे लिङगार्डले दोस्रो हाफको इन्जुरी समयमा एक एक गोल थपे । न्युक्यासलका जाभियर मानक्वीलोले ५६औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।
जितसँगै म्यानचेस्टर युनाइटेड शीर्षस्थानमा उक्लिएको छ । युनाइटेडले चार खेलबाट १० अंक बनाएको छ । पराजित न्युक्यासल एक अंक सहित १९औं स्थानमा छ ।
अर्को खेलमा चेल्सीले एस्टर्न भिल्लालाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा चेल्सीलाई जिताउन रोमेलु लुकाकुले दुई गोल गरे । उनले १५औं र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । माटेओ कोभासिक४९औं मिनेटमा गोल गरेका थिए । जितसँगै १० अंक बनाएको चेल्सी दोस्रो स्थानमा छ । चार अंक बनाएको एस्टर्न भिल्ला १२औं स्थानमा छ ।
अन्य खेलमा म्यानचेस्टर सिटीले लेस्टरसिटीलाई, ब्राइटनले ब्रेनफोर्डलाई र आर्सनलले नर्बिच सिटीलाई समान १–० गोलले हराएको छ । अर्को खेलमा वल्भ्सले वार्टफोर्डलाई २–० गोलले हरायो । १० खेलाडीमा समेटिएको टोट्टनहाम क्रिस्टल प्यालेससँग उसैको मैदानमा ३–० गोलले पराजित भयो । साउथ ह्याम्पटोन र वेस्टहाम युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।