काठमाडौं । नेपाल र बंगलादेश महिला राष्ट्रिय फुटबल टोलीबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार (आज) साँझ दशरथ रंगशालमा हुँदैछ । ५ः०० बजे सुरु हुने खेलमा नेपालले लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।
बंगलादेशी टोली पनि नेपालसँग बदला लिने लक्ष्यमा छ । घरेलु मैदान दशरथ रंगशालामा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्ने मौका पाएको नेपालले बिहिबार बंगलादेशलाई २–१ गोलले हराएको थियो । नेपालको जितमा सविता राना र प्रिती राईले गोल गरेका थिए । दुवैले राष्ट्रिय टोलीमा डेब्युसहित गोल गरेका हुन् ।
युवा खेलाडीको साथ पाएको नेपालका लागि पहिलो खेलमा सिर्जना सिंह र रश्मीकुमारी घिसिङले पनि डेब्यु गर्ने मौका पाएका थिए । नेपालले एएफसी महिला एसियन कप २०२२ को छनोट खेलको तयारीका लागि बंगलादेशसँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको हो ।
एएफसी एसियन कप छनोट खेल अर्को साता उज्वेकिस्तानमा हुँदैछ । छनोट खेलमा नेपाल समूह ‘एफ’मा परेको छ । नेपालको समूहमा फिलिपिन्स र हंङकङ छन् । समूहको शीर्ष टोलीले सन् २०२२ मा भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।