logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • एमाले सुदूरपश्चिम नेतृत्वमा लफडा: इन्चार्ज रावल कि भट्ट ? 

    एमाले सुदूरपश्चिम नेतृत्वमा लफडा: इन्चार्ज रावल कि भट्ट ? 

    5.7K
    Shares

    ‘चोक्टा खान गएकी बुढी, झोलमा डुबेर मरी।’ नेपाली जनमानसमा चर्चित यो उखान अहिले नेकपा एमालेका उपाध्यक्ष भीम रावलमा ठ्याक्कै मिल्न गएको छ।  एमालेको झण्डै दुई तिहाइको सरकार हुँदा पार्टी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको खरो विरोधीको पहिचान बनाएका रावल तत्कालीन एमालेको सुदूरपश्चिम इञ्चार्ज समेत हुन्।

    अहिले भने पार्टीमा उपाध्यक्षबाहेक उनको जिम्मेवारी के हो भन्ने कुरा निश्चित भएको छैन। नेताहरुले गरेको सम्झौता अनुसार पार्टी २०७५ जेठ २ मा फर्किदा रावल उपाध्यक्षसँगै सुदूरपश्चिम प्रदेश इनचार्जसमेत हुन्।  तर, केपी ओली र नेकपा एमालेको सरकार गिराउनदेखि माधवकुमार नेपाललाई उचालेर नयाँ पार्टी खोल्न उक्कास्ने काम गरेको आरोप लागेका रावल यत्तिबेला जिम्मेवारी बिहीन बनेका छन्। यद्यपि उनले पदको दाबी गर्न भने छोडेका छैनन्।

    पार्टीमा विवाद चर्किदै जाँदा अध्यक्ष ओलीका कटु आलोचक रावल नेकपा (एकीकृत समाजवादी) पार्टी फुटको योजना ड्राफ तयार गर्नेमध्येका एक नेता भएको बताइन्छ। छिटो नयाँ पार्टी खोलौ भनेर माधवकुमार नेपाललाई ढाडस दिने काम रावललेनै गरेको नेपाल निकट नेताहरु बताउँछन्।

    माधव नेपालले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएकै दिन एमालेको स्थायी समितिको बैठकमा गएका रावल अहिले ओलीको सर्मथक भएका छन्। तर अध्यक्ष ओलीले रावललाई त्यति स्वीकार नगरेको देखिन्छ। ओली निकट नेताहरुले समेत रावल पटकपटक बालकोट पुगे पनि ओलीले उनलाई नरुचाएको स्वीकार गर्नछन्।

    अध्यक्ष ओलीमात्र नभएर पार्टी भिन रावल एमाले वृत्तले रावललाई नरुचाएको देखिन्छ। माधव नेपालसँग आफू विरुद्ध योजनावद्ध ढंगले रावल अगाडि बढेपछि अध्यक्ष ओलीले एमाले सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिए। सर्वोच्च अदालतले नेकपालाई अवैधानिक भन्दै एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्किएपछि भट्ट एमालेमै बसेका हुन्। एमाले नछोडेका भट्टराई ओलीले प्रदेश इन्चार्जको जिम्मेवारी दिएका हुन्। कठिन समयमा एमालेलाई साथ दिएको भन्दै ओली लेखराज भट्टलाई हटाएर फेरि रावललााई प्रदेश इन्चार्ज बनाउने योजनामा छैनन्।

    अहिले पनि ओली सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा भट्ट कायम रहेको जिकिर गरिरहेका छन्। तर ओलीको निर्णयलाई रावल मान्न तयार देखिएका छैनन्। रावलले मंगलबार मात्र धनगढीमा पुगेर ओलीलाई फेरि चुनौती दिएका छन्।

    रावलले १० बुँदे सहमति हुबहु कार्यान्वयनमा जोड दिँदै २०७५ साल २ जेठ को अवस्थामा पार्टी संरचना कायम राख्ने भनिएकाले आफू नै सुदूरपश्चिम प्रदेशका इञ्चार्ज रहेको दाबी पनि गरेका छन्। 

    रावलले ओलीले पेलेर जान खोजे कडा रुपमा प्रस्तुत हुने बताएका छन्। उनले कसैको पेलाई मान्य नहुने भन्दै आफू विभाजनसँगै पेलाईको विरुद्ध संघर्षमा रहेको बताए। यसले एमालेभित्र ओली र रावलबीच फेरि नयाँ द्वन्द्व सुरु भएको छ।

    यता लेखराज भट्टले भने रावल केन्द्रीय तहको उपाध्यक्ष भएको र सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफू नै भएको दाबी गर्दै आएका छन्। रावल र भट्टको कुराले सुदूरपश्चिम प्रदेशका एमाले पार्टी नेता र कार्यकर्तालाई समेत गाह्रो बनाएको छ।

    रावलको दोधारे चरित्रले गर्दा यसअघि उनलाई साथ दिएकाले पछिल्लो समय साथ छोड्दै गएका छन्। त्यसैले त रावलाई अहिले आफ्नो र अर्को छुट्टयाउन गाह्रो भइरहेको छ। रावलले मंगलबार मात्र सुदूरपश्चिम पुगेर आफूलाई ज्यान दिन्छु भन्नेहरुले साथ छाडेको भन्दै गुनासो समेत पोखेका छन्। 
    रावलकै पहलमा प्रदेशसभामा टिकट पाएर जितेका र समानुपातिकमा समावेश भएकाहरुले साथ छाडेका छन्। नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको इञ्चार्जका रुपमा रावलले निकटस्थलाई टिकट दिलाएका थिए। तर, ती मध्ये अधिकांशले रावलको साथ छोडेका छन्।

    रावलका कारण तत्कालीन नेकपा हुँदै नेकपा एमालेको विवादमा अध्यक्ष ओली  विरोधी समूह सुदुरपश्चिममा बलियो स्थितिमा थियो। देशभरका प्रदेशमध्ये सुदूरपश्चिममा मात्र ओली विरोधी समूह बलियो थियो।

    एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) बन्दा रावलले माधव नेपालको साथ छाडे पनि उनी निकटस्थ धेरैले माधव नेपाललाई नै साथ दिएका छन्। रावलले सांसद बनाएका कतिपय मन्त्री नै बने।

    रावलकै कारण सुदूरपश्चिममा माधव नेपाल समूह बलियो भयो। तर, अहिले रावल आफैँ कमजोर देखिएका छन्। एमाले सुदूरपश्चिममा पहिलो ठूलो दलबाट चौंथो स्थानमा झरेको छ। नेकपा एस सबैभन्दा ठूलो दल बनेको छ। दोस्रोमा माओवादी केन्द्र र तेस्रोमा काँग्रेस छ। तर यसअघि सुदूरपश्चिमको मियोको रुपमा रहेका रावल अहिले आफू ‘इञ्चार्ज’ हो, होइन भन्ने प्रश्नको उत्तर खोजिरहेका छन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend