काठमाडौं । पाँच दलीय गठबन्धन सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ ।
सोमबार बसेको मन्त्री परिषद् बैठकले सिलवाललाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउन अनुमती दिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन दलको सर्मथनमा प्रधानमन्त्री बनेसँगै ओली सरकारले नियुक्त गरेका राजनितिक नियुक्ति धमाधम बदर गर्ने प्रक्रिया सुरु गरेको थियो ।
सोही प्रक्रियाका आधारमा राखेप सदस्य सचिव सिलवालको काम चित्त बुझ्दो नरहेको भन्दै उनलाई तीन पटक सम्म स्पष्टिकरण समेत सोधेको थियो । सिलवालले सरकारलाई चित्त बुझ्दो जवाफ नदिएको र खेलकुदलाई मनोमानी ढंगले चलाएका कारण बर्खास्त गर्न लागिएको युवा तथा खेलकुद मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘सिलवाललाई प्रक्रिया पुरा गरेर हटाउने भन्ने निर्णय भएको छ,’ स्रोतले भन्यो ।
केपी ओलीका प्रिय पात्र मानिने सिलवाल २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए । राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा दोस्रो पटक पुनः नियुक्त गरेको थियो ।
ऐन अनुसार सदस्य सचिवका लागि आह्वान गरिएको खुला आवेदनमा २७ जनाले निवेदन दिएका थिए । उनी दोस्रो पटक खुला प्रतिस्पर्धाबाट सदस्य सचिव नियुक्त भएका थिए । सिलवाल सोमबार साँझमात्र माल्दिभ्समा सम्पन्न साफको फाइनल खेल हेरेर स्वदेश फर्किएका थिए ।
उनी स्वदेश फर्कनुभन्दा पहिल्यै मन्त्री परिषद्ले उनलाई प्रक्रिया पु¥याएर बर्खास्ती गर्ने निर्णय गरेको थियो । सिलवालमाथि १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न गर्दा ठूलो मात्रामा आर्थिक अनियमितता गरेको आरोप समेत लागेको छ । महालेखा परिक्षकको प्रतिवेदनमा समेत १३औं सागमा ब्यापक आर्थिक अनियमितता र भष्ट्राचार भएको उल्लेख छ ।