काठमाडौं । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगअन्तर्गत समूह ‘बी’को नाटकीय खेलमा १० खेलाडीमा सीमित स्पेनिस एट्लेटिको मड्रिडमाथि ३-२ को जित हासिल गरेको छ ।
मंगलबार राति घरेलु मैदानमा एट्लेटिकोका लागि दुई गोल गरेका एन्टोनी ग्रिजम्यानले ५२ औं मिनेटमा सोझै रातो कार्ड सामना गरेपछि एट्लेटिकोले बाँकी समय १० खेलाडीमा सीमित भएर संघर्ष गर्नुपरेको थियो ।
लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा नाबी केइटाले एक गोल गरे । पराजित एट्लेटिकोको लागि दुबै गोल रातो कार्ड सामना गरेका ग्रिजम्यानले गरे ।
खेलको आठौं मिनेटमा मोहम्मद सालाहले लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि नाबी केइटाले २-० को अग्रता बनाए ।
तर, खेलको २० औं मिनेटमा पहिलो गोल गरेका ग्रिजम्यानले ३४ औं मिनेटमा गोल गर्दै खेललाई मध्यान्तरमा २-२ को बराबरीमा ल्याएका थिए ।
७८ मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै अवे खेलमा महत्त्वपूर्ण तीन अंक दिलाए ।
समूह बी को अर्को खेलमा मंगलबार राति एफसी पोर्टोले एसी मिलानमाथि १-० को जित हासिल गर्यो । पोर्टोलाई घरेलु मैदानमा जित दिलाउन लुइस डियाजले ६५ औं मिनेटमा निर्णायक गोल गरे ।
३ खेलमा ९ अंक जोडेको लिभरपुल समूहको शीर्ष स्थानमा रहँदा समान ४ अंक जोडेको एट्लेटिको र पोर्टो दोस्रो र तेस्रो स्थानमा छन् । मिलानले अंकको खाता खोल्न सकेको छैन ।