काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त गरेर राजीनामा दिनुपर्ने सर्वोच्च अदालतका न्यायाधीशहरुले निष्कर्ष निकालेका छन् ।
प्रधान्यायाधीश जबरासँगको छलफलपछि बसेको न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेका हुन् । उनीहरुले प्रधानन्यायाधीश जबराबाट न्यायपालिकाको नेतृत्व हुन नसक्ने समेत दोहोर्याएका छन् ।
मंगलबार बिहान मात्र न्यायाधीशहरूको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक हिसाबले नै बाहिरिने बताएका थिए । छलफलमा जबराले राजीनामा नदिने भन्दै विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफूले पनि राजीनामा दिने उल्लेख गरेका थिए ।
प्रधानन्यायाधीश जबराको विषयमा बुधबार बिहान पनि १५ जना न्यायाधीशहरू संयुक्त रूपमा छलफल गर्दै छन् । सामूहिक छलफलका कारण बुधबार पनि इजलास प्रभावित हुने देखिएको छ । मंगलबार प्रधानन्यायधीश र सामूहिक छलफलका कारण इजलास प्रभावित भएको थियो । सोमबार पनि न्यायाधीशहरू इजलासमा नबसेर आपसी छलफलमा जुटेका थिए ।