काठमाडौं । टुरिनविरुद्ध झिनो गोल अन्तरले विजयी हुँदै एसी मिलान इटालियन सिरी ए लिगको शीर्ष स्थानमा फर्किएको छ । मंगलबार राति भएको खेलमा मिलानले टुरिनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान सान सिरोमा मिलानलाई जिताउन चेल्सीका पूर्वस्ट्राइकर ओलिभियर जिराउडले १४ मिनेटमा गरेको गोल निर्णायक बन्यो । बाँकी समय दुबै टोलीले गोलका अवसर सदूपयोग गर्न सकेनन् ।
जितसँगै अपराजित मिलान १० खेलबाट २८ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ । मिलानले ९ खेल जित्दा १ खेलमा बराबर गरेको छ ।
दोस्रो स्थानमा ९ खेलबाट २५ अंक बनाएको नापोली छ ।
मिलानसँग पराजित टुरिन १० खेलबाट ११ अंकसहित १२औँ स्थानमा छ ।
मंगलबार राति भएका अन्य दुई खेलमा १० खेलाडीमा सीमित भेनेजियालाई सेलेर्निटनाले २-१ गोल अन्तरले पराजित गरेको छ । स्पेजिया र जिनोयाले १-१ गोलको बराबरी खेले ।