काठमाडौं । औँलामा गन्न सकिने विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको कुल आम्दानीको केही अंशले भोकमरी समस्या समाधान गर्न सकिने संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमका निर्देशकले बताएका छन् ।
विश्वका खर्बपतिहरूले एकचोटि आफ्नो आम्दानीको केही अंश खर्च गरेमा भोकमरीसँग जुध्न सहज हुने निर्देशक डेभिड बिस्लेले जनाएका छन् । ‘भोकमरीले ग्रस्त विश्वका करिब चार करोड २० लाख जनसंख्यालाई खुवाउनका लागि सात खर्ब २१ अर्ब रुपैयाँ चाहिन्छ, यदि हामीले सहयोग गरेनौं भने तिनीहरुको मृत्यु हुन्छ,’ उनले भने ।
टेस्लाका प्रमुख कार्यकारी एलन मस्कको कुल सम्पत्ति २८९ बिलियन अमेरिकी डलर (तीन सय ४७ खर्ब रुपैयाँ) रहेको ब्लुमवर्गले जनाएको छ । मस्कको यो रकमको केवल २ प्रतिशत रकम दान गर्न बिस्लेले आग्रह गरेका हुन् । दक्षिण अफ्रिकामा जन्मिएका मस्क अमेरिकामा बस्दै आएका छन् ।
कोभिड-१९ को महामारी सुरु भएपछि अमेरिकी धनाढ्यहरूको आम्दानी दोब्बर भएको इन्स्टिच्युट फर पोलिसी स्टडिजले उल्लेख गरेको छ । बिस्लेका अनुसार कोभिड-१९ र जलवायु परिवर्तनजस्ता भयानक समस्याले गर्दा धेरैै मुलुकहरू भोकमरीको चपेटामा परेका छन् । योसँग जुध्नका लागि विश्वका खर्बपतिहरूले सहयोग गर्नुपर्ने उनको आग्रह छ ।
युद्धग्रस्त अफगानिस्तानको आधा जनसंख्या अर्थात् दुई करोड २८ लाख मानिसले एकदमै गम्भीर भोकमरी समस्या सामना गर्नुपरेको विश्व खाद्य कार्यक्रमले सोमबार जारी गरेको रिपोर्टमा उल्लेख छ । बढ्दो बेरोजगारी र तरलता अभावले गर्दा विभिन्न मुलुकले मानवीय संकटको सामना गरिरहेका छन् । रिपोर्टका अनुसार अफगानिस्तानका पाँच वर्षमुनिका ३२ लाख बालबालिका जोखिममा रहेका छन् ।
–एजेन्सीहरुकाे सहयाेगमा