logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • रियल म्याड्रिड र सेभिया विजयी

    रियल म्याड्रिड र सेभिया विजयी

    2K
    Shares

    एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिड र सेभिया विजयी भएका छन् । शनिबार राति भएको खेलमा उपाधि दौडमा रहेको रियलले १० खेलाडीमा समेटिएको इल्चेलाई उसैको मैदानमा २–१ गोलले हरायो । अर्को खेलमा सेभियाले ओसासुनालाई २–० गोलले पराजित गर्यो ।

    जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ । ११ खेलमा सात जित, तीन बराबरी र एक हार खेपेको रियलको २४ अंक छ । दोस्रो स्थानमा उक्लिएको सेभिया र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको पनि समान २४ अंक छ । रियलसँग पराजित इल्चे १० अंक सहित १५औं स्थानमा छ । सेभियासँग हारेको ओसासुना १९ अंक सहित सातौं स्थानमा छ ।

    रियलको जितमा दुवै गोल भिनिसियस जुनियरले गरे । इल्चेका पेरे मिल्लाले सान्त्वना गोल फर्काए । भिनिसियसले २२औं मिनेटमा लुका मोड्रिचको पासमा गोल गरेका थिए । ७३औं मिनेटमा भिनिसियसले ब्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । 

    जारी लिगमा उच्च लयमा रहेका भिनिसियसको यो ब्यक्तिगत सातौं गोल हो । उनी लिगमा सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा रहेका रियलकै कप्तान करिम बेन्जेमाले नौ गोल गरेका छन् ।

    यसअघि ६३औं मिनेटमा राउल गुटी रातो कार्ड पाउँदै बाहिरिएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो । तरपनि इल्चेले ८६औं मिनेटमा गोल फर्कायो । पेरे मिल्लाले डारियो बेनेडेट्टोको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि थप गोल नहुँदा रियल विजयी भयो । ५७ प्रतिशत बल पोसेसन राखेपनि रियललाई इल्चेले दबाब दिएको थियो । रियलका भिनिसियस जुनियर ‘म्यान अफ दी म्याच’ भए ।

    अर्को खेलमा सेभियालाई जिताउन डिएगो कार्लोस र लुकास ओकम्पोसले गोल गरे । कार्लोसले ४०औं मिनेटमा इभान राकिटिकको पासमा गोल गरेका थिए । लुकासले ६०औं मिनेटमा गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाए । ६४ प्रतिशत बल पोसेसन राखेको सेभियाले खेलको अन्तिमसम्म गोल गर्ने अवसर बनाएको थियो । 
     
    घरेलु मैदानमा भएको अर्को खेलमा क्याटलान क्लब बार्सिलोना डिपोर्टिभो अलाभेससँग १–१ गोलको बराबरीमा रोकिएको छ । बार्सिलोनाका लागि मेम्फिस डिपाएले गोल गरे । अलाभेसका लुइस रियोजाले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । डिपाएले ४९औं मिनेटमा जोर्डी अल्वाको पासमा गोल गरेका थिए ।

    तर बार्सिलोनाको अग्रता लामो समय टिकेन । ५२औं मिनेटमा लुइसले जोसेलुको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८० प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनाले थप गोल गर्न नसक्दा बराबरीमा चित्त बुझायो । अन्तरिम प्रशिक्षक सेर्जी बार्जुआनको पहिलो खेलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । अघिल्लो खेलमा रायो भालेकानोसँग १–० गोलले पराजित भएपछि बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो ।

    बराबरीसँगै ११ खेलबाट १६ अंक बनाएको बार्सिलोना नवौं स्थानमा छ । १० अंक बनाएको अलाभेस १६औं स्थानमा छ । अर्को खेलमा भ्यालेन्सियाले भिल्लारियललाई २–० गोलले पराजित गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend