काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप पाँच सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट नौ जनाको मृत्यु भएको छ ।
११ हजार ६६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट चार सय ४१ तथा एन्टिजेन विधिबाट ९२ जना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार सय ९० जना संक्रमणमुक्त बनेका छन् ।
हालसम्म कूल संक्रमितमध्ये ७ लाख ९२ हजार दुई सय ७७ जना संक्रमणमुक्त भईसकेका छन् । नेपालमा कोरोना निको हुने दर ९७.४ प्रतिशत पुगेको छ । अहिले नेपालमा सक्रिय संक्रमितको सङ्ख्या ९ हजार तीन सय १८ रहेको पनि मन्त्रालयले जनाएको छ ।
हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार चार सय १६ जना पुगेको छ । २४ घण्टामा थप ६५ हजार २८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । खोप अभियान सुरु भएयता अहिलेसम्म १ करोड ५९ लाख २३ हजार तीन सय ९ मात्रा खोप लगाइसकिएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।