‘जसरी साँझ र बिहानीको समयमा नियमित रूपमा सूर्य देउता तिमी उदाउँथ्यो, आज उदाउन किन ढिलो गरेको ? तिम्रो दर्शन गर्न निः सन्तान र दुः खी महिला घुम्टो ओढेर पानीमा उभिएकी छन् । उनलाई काखभरी सन्तान देऊ । जसका कारण उनको ‘निः सन्तान’ को नाम सजिलै मेटाउन सकियोस् ।’
प्रसिद्ध छठको यो गीत तराई–मधेसका जिल्लामा विभिन्न समुदायले एउटै घाट (पूजास्थल) मा सामूहिक रूपमा गाउँदै बुधबार साँझ अस्ताउँदो सूर्य र बिहिबार उदाउँदो सूर्यलाई अर्घ चढाएर छठ पर्व मनाउँदैछन् । अन्य समयमा दुई असमान जातजातिबीच छुवाछूत र लैंगिक भेदभाव देखिए पनि छठ मनाइने घाटमा यस्तो हुन्न् ।
मिथिलाञ्चलका मुख्यतः मधेसी समुदायले महान् पर्वको रूपमा मनाउने छठको महिमाका कारण पछिल्लो समयमा पूर्वी तराई, मध्य तथा पश्चिमी तराई र राजधानीमा बसाईसराई गरी आएका रैथाने पहाडी मूल र मुस्लिम समुदायका सर्वसाधारण र गैरमधेसीले पनि मनाउन थालेका छन् । छठको आस्था र विश्वास आ–आफ्नै भए पनि प्रायः तीन प्रकारका आस्था राख्नेहरूले यो पर्व मनाउने गरेको पाइन्छ ।
परम्परागत रूपमा पूजा गर्नेहरूको तत्काल असाध्य रोग निवारण हुने विश्वास, पुत्र प्राप्तिको आशा र चिताएको कार्यसिद्धिको भाकल पूरा हुने विश्वासमा छठ मनाइन्छ । महिलाले साडी तथा पुरुषले लंगोटी बेरेर लम्पसार परी (नामी दण्डवत) गर्दै आफ्नो घरबाट नदी किनारसम्म जाने प्रचलन छ ।
धार्मिक पक्ष
यो पर्व प्राचीन र रोमाञ्चकपूर्ण मानिएको छ । सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ ।संस्कृतिविद् डा.रामदयाल राकेशका अनुसार अत्रिमुनीका पत्नी अनुसुयाले परापूर्वकालमा छठ पर्वको सुभारम्भ गरेकी थिइन् ।
छठमा सूर्यदेवकै उपासना गरेका कारण आफ्ना पतिबाट अगाध स्नेह र माया पाएकी थिएन उनले । द्वापर युगमा चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । महारानी द्रौपदी सपरिबार यो पर्वको उपासना गरेकी थिइन् । उपासनाकै कारण उनका पति युधिष्ठिरले आफ्नो प्रतिज्ञा पूरा गर्दै कौरवमाथि विजय हासिल गरेका थिए भन्ने जन श्रुति पाइन्छ ।
प्राचीनकालमा एक शक्तिशाली तर, दुष्ट प्रवृत्तिका राजालाई पूर्वजन्मको पापका कारण उनलाई कुष्ठ तथा क्षयरोग लागेको थियो । एक ब्राह्मणको सल्लाहमा राजाले कार्तिक शुक्लपक्षदेखि पञ्चमीको ‘खरना’ देखि सप्तमीको प्रातः कालसम्म पूर्ण विधि विधानअनुसार छठको अनुष्ठान गरेपछि उनी रोगमुक्त भएको विश्वास छ ।
त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ । मार्कण्डेय पुराणमा यो पर्वको बारेमा बर्णन गरिएको छ । सृष्टिको अधिष्ठात्री प्रकृति देवीले आफूलाई छ भागमा विभाजित गरेकी छन् । उनको छैटौं अंश उत्कृष्ट मातृदेवीका रूपमा मानिन्छ जसलाई ब्रह्माको मानसपुत्री भनिन्छ । छठी देवीले पृथ्वी र प्राणी मात्रको रक्षा गर्ने छन् । शिशु जन्मिएको ६ दिनपछि उही देवीको पूजा हुन्छ । उनै देवीसँग बच्चाहरूको स्वस्थ र दीर्घायुका लागि प्रार्थना गरिन्छ ।
पर्वको विधि
पूर्वी, मध्य तथा पश्चिमी तराईका बासिन्दालाई अहिले नजिकिँदो छठका कारण भ्याइनभ्याइ छ । अस्वस्थ्य, निर्धनता र निःसन्तानबाट मुक्ति पाइने जनविश्वासमा छठ मिथिलाञ्चल बढी लोकप्रिय भएको हो । सरल विधि, महत्वाकांक्षी भावना र छुवाछूतरहित भावनाले सामूहिक रूपमा मनाउनु पर्वको प्रमुख विशेषता हो ।
व्रतालु महिला र पुरुषले गत सोमबार पर्ने चौथीका दिन नुहाइधुवाइ गरी पवित्र खानेकुरा खाएर मंगलबार खरना अर्थात दूध, मिठ्ठा र चामलबाट निर्मित विशेष खीर र फलफूल व्रतालु र अन्य सदस्यले सेवन गर्नुपर्छ । खीर पनि माटाकै भाँडोमा पकाउनुपर्छ ।
अर्काे दिन अर्थात बुधबार दिनभर निराहार व्रत बस्ने प्रचलन छ । षष्ठी (खष्टी) अर्थात बुधबार साँंझ व्रतालुहरू स्थानीय जलाशय, नदी, खोला र पोखरीमा निर्माण गरिएको पूजास्थल (घाट) मा गहुँ र चामलको पिठोबाट निर्मित ठकुवा, चामलकै पिठोबाट बनेको भुसुवा, केरा–सुन्तला, भोकटे, स्याउ, उखु, कूला, बेसार, अदुवा, मुला, धागो आदि प्रसादको रूपमा बाँसको चोयाबाट निर्मित विशेष प्रकारको भाँडा (चंगेरा, डगरी र सुपती) मा सजाएर राख्ने चलन छ ।
छठमा माटोबाट निर्मित स–साना हात्तीका प्रतिमा, दीयो, कोसिया आदिको विशेष महत्व हुन्छ । यी सबै सामग्री मंगलबार अपराह्नदेखि नै व्रतालु परिवारका सदस्यले घाटमा लगेर सजाएर राख्छन् । सूर्यास्तपछि नै सबै सामग्री घाटमा पु¥याइसक्नुपर्ने संस्कृतिविद् रेवतीरमण लाल बताउँछन् ।
जलाशय, नदी, खोला र पोखरीमा अहिले सूर्य देवताको प्रतिमा स्थापना गरी हिजोआज पूजा गर्ने चलन पनि सुरु भएको छ । बुधबार साँझ ‘सझिया घाट’ अर्थात अस्ताउँदो सूर्य (भास्कर) भगवानलाई हेरी ब्रत बस्नेहरूले पहिलो अर्घ दिन्छन् ।
यो बेला व्रतालु जलाशय, नदी, खोला र पोखरीमा नुहाएर पानीमै उभेर सूर्य देवताको पूजा गर्ने चलन छ । पानीमा उभिएका व्रतालुले बिहिबार बिहान ‘भिन्सरवा घाट’ अर्थात उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि पूजा विसर्जन गर्ने चलन छ । प्रसादका रूपमा बनाइएका मिष्ठान्न परिकार र फलफूल आराध्यदेव सूर्य भगवानलाई अर्पण गरी सर्वसाधारणलाई वितरण गर्ने चलन छ ।
छठपर्व र कुष्ठरोगको सम्बन्ध
तराई समुदायमा कुष्ठरोगलाई भगवान सूर्यको श्रापको रूपमा मानिँदै आएको छ । छठमा तयार गरिने पूजा र प्रसाद सामग्री भूलवश चोरेर वा जानेर जुठो बनाउने व्यक्तिलाई नै सूर्यदेवले श्राप दिँदा कुष्ठरोग लागेको जनविश्वास हालसम्म कायम छ । यही कारण पनि छठको पूजा सामग्री र प्रसाद शुद्ध र जतनका साथ व्रतालुले राख्ने गर्छन् ।
यस विषयमा अर्को पनि मान्यता छ । कुष्ठरोग र छालासम्बन्धी रोग लागेका व्यक्तिले छठको उपासना गरी सप्तमीको दिन बिहान उदाउँदो सूर्यको प्रकाशसँगै नुहाइधुवाइ गरेमा यो रोग निको हुने जनविश्वास छ । यसमा वैज्ञानिक आधार पनि छ । सूर्यको प्रकाशमा भिटामिन डी हुने भएकाले त्यसले छालाजन्य रोगमा लाभ दिन्छ ।
मुस्लिम र दलित समुदायको आस्था
तराईबासी र गैरमधेसीले मात्र छठ पर्व मनाउँदैनन् । अब यो पर्व मुस्लिम समुदायले पनि उत्साह र आस्थाका साथ मनाउन थालेका छन् । सुनसरी, मोरङ, बाँके, बारा, रौतहट, धनुषा, सप्तरी, सिराहालगायतका जिल्लामा हिन्दु महिलासँगै मुस्लिम समुदायका महिलाले पनि सामूहिक रूपमा विधिअनुसार छठ मनाउन सुरु गरेका छन् ।
सबै समुदाय, महिला तथा पुरुष जलाशयमा आधा शरीर डुवाएर सूर्य देउताको उपासना गर्छन् । यादव, मारबाडी, पहाडी, बाहुन र कायस्थ समुदायसँगै मुसहर, चमार, दुसाध र मण्डल समुदायका व्रतालु महिला र पुरुषले एउटै घाटबाट उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ चढाएर छठ पर्व मनाउन थालेका छन् ।
जापानमा पनि सूर्य उपासना
जापानी संस्कृतिमा पनि सूर्यको उपासना गरिन्छ । सूर्यशक्तिको बारेमा जानकार जापानीले आजको वैज्ञानिक युगमा पनि श्रद्धा र भक्तिका साथ सूर्यको आराधना गर्दै आएका छन् । जापानलाई सूर्योदयको देश पनि भनिने भएकाले त्यहाँ सूर्यको उपासनाको प्राचीन परम्परा छ । बिहानै स्नान गरी सूर्यलाई अर्घ दिँदा सूर्यको शक्ति मानव शरीरमा प्रवेश गर्छ भन्ने तथ्य वैज्ञानिकको अनुसन्धानले पुष्टि गरिसकेको छ ।
यति मात्रै होइन, प्राचीन बेबीलोनिया, रोम, इन्डोनेसिया, युनान, जावा, सुमात्रा र भारतलगायतका मुलुकमा पनि यो पर्व निक्कै निष्ठा, आस्था र धार्मिक संस्कृतिअनुसार मनाउने चलन छ ।