काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २९ कात्तिक सुरू हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग तीन दिन सरेको छ । बिहीबार एन्फाले २९ कात्तिकबाट तय लिगलाई तीन दिन सार्दै ३ मंसिरबाट गर्ने निर्णय गरेको हो ।
एन्फा मुख्यालयमा आयोजित कान्तिपुर टेलिभिजनसँग लिगको प्रसारण अधिकार सम्झौता कार्यक्रममा एन्फाले लिगलाई तीन दिन पर सारेको जनाएको छ । एन्फाले क्लबहरुसँगको छलफलपछि लिगका खेलहरु सातामा तीन दिन (शुक्रबार, शनिबार र आइतबार) मात्र खेलाउनेसमेत जनाएको छ ।
यससँगै लिगको खेल तालिकामा समेत परिवर्तन हुने भएको हो । यसअघि २९ कात्तिकमा साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच खेल हुने तालिका थियो । १४ क्लबको सहभागिता रहने लिगको अन्तिम दुई टोली रेलिगेसन (घढुवा) हुनेछन् ।