एजेन्सी, बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङलाई चीनको राजनीतिक इतिहासमा स्थापित गर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० ले एउटा ऐतिहासिक प्रस्ताव पारित गरेको छ । बेइजिङमा जारी सीपीसीको स्थायी कमिटीको छैटौं पूर्ण वैठकले सो प्रस्ताव पारित गरेको हो । पार्टी स्थापनापछि एतिहासिक प्रस्ताव पारित भएको यो तेस्रो पटक हो ।
यसअघि सन् १९४५ मा पार्टीका संस्थापक माओ जेदोङले र सन् १९८१ मा देङ सियाओपिङले यस्तो प्रस्ताव पारित गरेका थिए । पार्टीको १०० वर्ष लामो इतिहासको समीक्षा गरिएको सो दस्तावेजमा सीपीसीको प्रमुख उपलब्धी र भावी दिशाबारे सम्बोधन गरिएको छ ।
राष्ट्रपति सीलाई पार्टीका संस्थापक नेता माओ र उनका उत्तराधिकारी देङकै हैसियत स्थापित गर्ने उदेश्यले प्रस्ताव पारित गरिएको छ । कतिपयले यो प्रस्तावलाई दशकौंदेखिको विकेन्द्रीकरणतर्फ फर्किने राष्ट्रपति सीको पछिल्लो प्रयासको रूपमा व्याख्या गरेका छन् । देङको शासनकालमा सुरु भएको विकेन्द्रीकरण नीति पूर्वराष्ट्रपति जियाङ जेमिनको कार्यकालसम्म तीब्र प्रयोगमा थियो ।
चार दिनसम्म चलेको १९औं स्थायी समितिको बैठकमा वैकल्पिक र पूर्ण गरी ३७० सदस्य उपस्थित थिए ।
आगामी वर्ष हुने नेसनल कंग्रेसको बैठकअघि स्थायी समितिको बैठक बसेको हो । नेसनल कंग्रेसको बैठकपछि राष्ट्रपति सी तेस्रो कार्यकालका लागि राष्ट्रपति हुने अनुमान गरिएको छ । सन् २०१८ को बैठकले दुई कार्यकालको व्यवस्था अन्त्य गरेको थियो ।
राष्ट्रिय हिरो बन्न खोजे सी
प्रस्तावले राष्ट्रपति सीलाई अझै लामो समयसम्म शक्तिमा रहिरहन सहयोग गर्ने विज्ञहरुले बताएका छन् । ‘चीनको राष्ट्रिय यात्रामा सीले आफूले आफैलाई राष्ट्रिय हिरो साबित गर्न खोज्दैछन्,’ चाइना निकानका सम्पादक एडम नि भन्छन् । एडम अगाडि थप्छन्, ‘एतिहासिक प्रस्ताव ल्याएर उनले आफूलाई चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्र र आधुनिक चीनमा आफ्नो शक्ति देखाउन खोजिरहेका छन् ।
राष्ट्रपति सीको पछिल्लो कदमले उनलाई यसअघिका चिनियाँ नेताहरूभन्दा पृथक देखाएको नेसनल युनिर्भसिटी अफ सिंगापुरका प्राध्यापक डा। चोङ लान बताउँछन् ।
‘पूर्व नेताहरू हु जिन्ताओ र जियाङ जमिन वर्तमान राष्ट्रपति सीले जस्तो आफूलाई शक्तिशाली बनाउने धुनमा लागेनन् । ’ चोङ भन्छन् । उनीहरु पनि सी जस्तै महत्वाकांक्षी भएको भए अनन्तकालसम्म शक्तिमा रमाउन सक्ने चोङको अनुमान छ ।
अहिले चीनमा व्यक्तिगत रूपमा राष्ट्रपति सीलाई राष्ट्रिय हिरो बनाउन खोजिएको उनको ठहर छ । यसअघि प्रस्ताव पारित गरेका माओ र देङले पनि विगतको प्रवृत्ति तोडेका थिए ।
सन् १९४५ मा पार्टीको विस्तारित बैठकमा अनुमोदन गरिएको पहिलो प्रस्तावले माओलाई सन् १९४९ मा जनगणतन्त्र चीन घोषणा गर्न सहयोग गरेको थियो ।
सन् १९७८ मा नेता बनेपछि देङले सन् १९८१ मा एउटा प्रस्ताव ल्याएका थिए । प्रस्तावमा सन् १९६६ देखि सन् १९७६ सम्म माओको नेतृत्वमा भएको चीनको सांस्कृतिक क्रान्तिको आलोचना गरिएको थियो । क्रान्तिमा लाखौंको मृत्यु भएको थियो । देङले चीनमा आर्थिक सुधारको जग बसालेका थिए ।