एजेन्सी, जेनेभा । कोभिड १९ बाट युरोप र एसियामा मार्चसम्म थप सात लाख मानिसको मृत्यु हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । सन् २०२२ को २२ मार्चसम्म ४९ देशका अस्पतालका आइसीयू बेड कोभिडका विरामीले भरिने डब्लूएचओले चेतावनी दिएको छ । कोभिडका कारण अहिलेसम्म युरोपमा १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
पछिल्लो समयमा युरोपमा कोभिड संक्रमण पुनः तीव्र देखिएको छ । कोभिडकै कारण अस्ट्रियामा लकडाउन गरिएको छ भने युरोपका अन्य देशहरुले प्रतिबन्धात्मक उपायहरु लागु गरेका छन् ।
सरकारले लगाएका प्रतिबन्धात्मक व्यवस्थाको विभिन्न देशमा विरोध भइरहेको छ । आंशिक लकडाउन जारी भएपछि नेदरल्यान्ड्समा हिंसात्मक प्रदर्शन भएका छन् ।
फ्रान्स, जर्मनी, ग्रीसलगायतका केही देशले आफ्ना नागरिकलाई बुस्टर डोज दिने तयारी गरिरहेका छन् ।
युरोपमा ठूलो संख्यामा मानिसको मृत्युको मुख्य कारण कोभिड भएको डब्लूएचओले ठहर गरेको छ ।
युरोपमा कोभिडबाट दैनिक मृत्यु हुनेको संख्या अहिले चार हजार २०० नाघेको डब्लूचएओले जनाएको छ । रसियामा कोभिडबाट दैनिक १२ सय जनाको मृत्यु हुने गरेको छ ।
अझै पनि युरोपको ठूलो जनसंख्याले खोप नलगाएको र डेल्टा भेरियन्टका कारण कोभिडबाट ज्यान जोगाउनेको संख्या बढ्दो छ ।
डब्लूएचओका युरोप निर्देशक डा. हान्स क्लुग्ले खोप नलगाएका व्यक्तिलाई तत्काल खोप लगाउन आग्रह गरेका छन् ।