logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • ’ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबमाथि सातदोबाटोको शानदार जित

    ’ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबमाथि सातदोबाटोको शानदार जित

    1.5K
    Shares

    काठमाडौं । नवप्रवेशी सातदोबाटो युथ क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबमाथि शानदार जित दर्ता गरेको छ । 

    शुक्रबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै सातदोबाटो शीर्ष स्थानमा समेत उक्लिएको छ ।  सातदोबाटोलाई जित दिलाउन मार्टिन्स अजयीले ह्याट्रिक गोल गरे । सुशील राईको नाममा एक गोल रह्यो । एपीएफका बिकी तामाङले एक गोल फर्काए । खेलको ४२ औं मिनेटमा मार्टिन्सले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए ।  इन्जुरी समयमै मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–० को अग्रता दिलाए ।  पहिलो हाफमा दुई गोलले पछि परेको एपीएफले दोस्रो हाफको सुरुआतमै गोल फर्कायो । ४७ औं मिनेटमा आशिष लामाको पासमा बिकीले गोल गर्दै एपीएफलाई २–१ गोलको स्थितिमा ल्याए ।तर, खेलको ५० औं मिनेटमा निरज चौधरीको पासमा सुशिलले पेनाल्टी एरियाबाट गोल गर्दै सातदोबाटोलाई ३–१ को अग्रता दिलाए । त्यसपछि खेलको ५८ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत तेस्रो गोल गर्दै सातदोबाटोलाई ४–१ को जित दिलाए ।

    सानदार जितसँगै शीर्ष स्थानमा उक्लिएको सातदोबाटोले ३ खेलमा ७ अंक जोडेको छ । एपीएफको यो लगातार तेस्रो हार हो । अंक विहीन एपीएफ पुछारमा रहेको छ ।

    त्यसअघि शुक्रबार नै भएको अर्को खेलमा थ्री स्टारले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ ।
    थ्री स्टारले फ्रेन्ड्ससँग १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता उल्टाएर थ्री स्टारले फ्रेन्ड्ससँग अंक खोसेको हो । थ्री स्टारका लागि मिक्छेन तामाङले गोल गरे । फ्रेन्ड्सका नाथनिल जुड ग्रासियाले एक गोल गरे । लगत्तै ५१ औं मिनेटमा फ्रेन्ड्सले सुरुआती अग्रता बनायो । कप्तान प्रकाश बुढाथोकीको क्रसमा फ्रेन्ड्सका ग्रासियाले हेडमार्फत गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए । तर, खेलको ८३ औं मिनेटमा मिक्छेन तामाङले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याए ।  यस बराबरीसँगै थ्री स्टारले ३ खेलमा ४ अंक जोडेको छ । फ्रेन्ड्सले ३ खेलमा २ अंक जोडेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend