नेपाली कांग्रेस १४ औँ महाधिवेशको चटारोमा छ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा आफैँ फेरि सभापति बन्ने दौडमा छन्। देउवासँगै आधा दर्जन शीर्ष नेताको सभापतिका लागि उम्मेदवारी घोषणा भइसकेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलसहित मैदानमा छन्। सभापति उम्मेदवारको रुपमा बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला र कल्याण गुरुङको दौडधुप कम छैन। सभापतिपछि शक्तिशाली मानिने महामन्त्री पदमा विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेलले उम्मेदवारी घोषणा गरेका छन्। वडा अधिवेशनले कांग्रेसको आन्तरिक लोकतन्त्रको सक्कली रुप देखिएको छ। कांग्रेसको बदलिँदो रुप, १४ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमको विषयमा कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडासँग दिनेश लुइटेलले गरेको कुराकानीको सम्पादित अंश :
मदन भण्डारी ३३ र बीपी कोइराला ३७ वर्षमा नेतृत्वमा पुगेका थिए। तपाईंहरुको पालो कहिले आउला ?
म त्यो पार्टीको कार्यकर्ता हुँ। कृष्णप्रसाद भट्टराई संसारकै कलिलो उमेरको सभामुख हुनुहुन्थ्यो। जो सबैभन्दा बढी समय कांग्रेस सभापति हुनुभयो। बीपी कोइराला २००७ सालमा गृहमन्त्री हुँदा ३६ वर्षको हुनुहुन्थ्यो। गृहमन्त्री मात्र हुनु भएन २००७ सालको क्रान्ति कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्ण शम्शेर राण र बीपी कोइरालाको नेतृत्वमा भयो। हाम्रो पार्टीमा दुःख कष्ट गरेका नेता धेरै हुनुहुन्छ। अहिले कांग्रेस स्थापनाकालका नेता कोही हुनुहुन्न। त्यसपछि २०२०-२२ साल पछाडिका नेतामा रामचन्द्र पौड्ल, शेरबहादुर देउवा हुनुहुन्छ। त्यो नेतृत्वसँगै हाम्रो पुस्ताका साथीहरुले महामन्त्रीको घोषणा गरिसक्नु भएको छ। तर, उहाँहरुले मेरो सभापति यो हो नभरी व्यक्तिगत रुपमा घोषणा गर्नु भएको छ। नेतृत्व परिवर्तन हुनुपर्छ। तर, कांग्रेसमा पुराना नेतालाई दूधबाट झिँगा निकालेर फालेजस्तो फाल्न सजिलो छैन। हामी सबैलाई मिलाएर कांग्रेसको १४ औं महाधिवेशन गर्ने तयारीमा छौँ।
पुराना नेतालाई विस्थापित गर्न नसक्ने कांग्रेस भित्रको आन्तरिक लोकतन्त्र चाहिँ कस्तो हो ?
म पनि केन्द्रको दाबेदार हुँ। सभापति, उपसभापति, महामन्त्रीको दाबेदार होइन त्यसपछिको दाबेदारी हो। आफ्नो सभापति को हो भन्ने थाहा नहुँदै हताहतार उम्मेदवारी घोषणा गरेर केही हुँदैन। महामन्त्रीको उम्मेदवारी घोषणा गर्ने युवा साथीलाई बधाई दिन्छु। यसले युवाको प्रतिनिधित्व हुन्छ। मिलाएर जानका लागि पाका र युवा दुवैको आवश्यकता पर्छ। अब पुरानो नेताहरुलाई सम्मान गरेर नयाँ साथीहरुलाई नेतृत्वमा ल्याउनुपर्छ।
तपाईं ५२ वर्ष पुग्नुभयो। अब पनि तपाईं नेता नबन्ने ?
म पनि नेता बन्ने अरुलाई पनि नेता बनाउने हो। म टिमको राजनीतिको विश्वास गर्छु। टिम भनेको गुट होइन। कांग्रेस भित्र गुटको होइन जुटको आवश्यकता छ।
तपाईंको उम्मेदवारी चाहिँ कुन पदमा ?
सहमहामन्त्रीमा मेरो दाबी छ। खसआर्यमा एउटा मात्र सहमहामन्त्रीको कोटा छ। थुप्रै सिनियर नेताहरु हुनुहुन्छ। टिमको सुझावका आधारमा अगाडि बढ्छौँ।
वडा अधिवेशनको रमिता देख्नुभयो। समाधान के हो ?
विवादलाई बाहिर ल्याएर मात्र हुँदैन। शीर्ष नेता एक ठाउँमा बसेर समस्या समाधान गर्नुपर्छ। कतिपय जिल्लामा सहमतिमै सबै वडाको अधिवेशन सम्पन्न भएको छ। यो ठूलो समस्या होइन तर समस्या देखिएपछि समाधानका लागि नेतृत्वले पहल गर्नुपर्छ।
क्रियाशिल सदस्यको नामावली गुटका नेताको खल्तीबाट सार्वजनिक हुन्छ भनिन्छ। सत्य के हो ?
आफूसँग मन मिल्ने साथीहरुको गुट पनि हुन्छ। एउटा समूहमा केन्द्रित हुन्छन्। मसँग सहमत नभएका साथीलाई गाउँबाटै सक्नुपर्छ भनेर जानु हुँदैन। मेरो विरोध गरेर पनि गाउँमा राम्रो संगठन गर्छ भने त्यसले पार्टीमा प्रतिनिधत्व गर्ने ठाउँ पाउनुपर्छ। कांग्रेस अहिले बिग्रिएकै परिश्रमी भन्दा परिश्रमिले गर्दा हो।
सरकार बनेको दुई महिना भयो। किन विस्तार हुन सकेन ?
हाम्रो मात्र बुताले यो सरकार बनेको होइन। अरु पार्टीका साथीहरु प्नि हुनुहुन्छ। अरु साथीहरुका समस्या तपाईंहरुले सुनिसक्नु भएको छ। सर्वोच्चमा मुद्दा परेको छ। त्यसले गर्दा उहाँहरुले नाम दिन सक्नु भएन। प्रधानमन्त्रीले म बदनाम भइसके छिटो मन्त्रीको नाम दिनुहोस् भनिराख्नु भएको छ। उहाँहरुले पख्नुहोस् भन्दा भन्दै दुई महिना बित्यो। अब केही दिनमा सरकार विस्तार हुन्छ।
संसदका गतिविधिलाई कसरी हेर्नु भएको छ ?
बाँदरले हरिया मकै टोकेजस्तो सांसदले मर्यादापालक टोक्न लागेका छन्। यो दूर्भाग्यपूर्ण छ। नेकपा एमाले भन्ने पार्टी २०५७ सालमा ५७ दिन संसद घेरेर बसेको थियो। त्यो पार्टीका नेता केपी ओली दुई पटक संसद विघटन गरेर त्यसको मुखै हेर्दिन भनेर बस्नु भएको थियो। त्यसपछि उहाँ सांसदको अनुहार हेर्न चाहनुहुन्न। यो घोर अराजनीतिक तरिका हो। म केपी ओलीलाई अनुरोध गर्छु- तपाईं १४ वर्ष जेल बसे भन्नुहन्छ। लोकतान्त्रिक पद्धति आफू अनुकुल नहुँदा मर्यादापालक टोक्न जाने सांसद उत्पादन गर्ने थलो नबनाउनुहोस्। बुद्धि विकेक भए संसदलाई अब राम्ररी चल्न दिनुहोस्। होइन भने संसदमा उपस्थित नै नहुनुहोस्। कानुनी राज्यलाई विश्वास गर्नुहोस्।’
एमाले र कांग्रेस मिलेर एमसीसी पासगर्ने तयारी हुँदैछ भन्छन्। यथार्थ के हो ?
यो विषयमा धेरै व्याख्या विश्लेषण गर्दिन। नेपालको सर्वभौमसत्ता, अखण्डता, एकता र स्वाभिमानमा आँच नआउने प्रकारका सहयोग लिनुपर्छ। चाहे अमेरिका, चाहे चीन, चाहे भारत, चाहे जापान जसले दिए पनि लिनुपर्छ। अमेरिकी पासपोर्ट चाहिँदैन, भिसा चाहिँदैन हेर्न पनि जाँदैनौँ। चीनको पनि सहयोग लिँदैनौँ भनेर उत्तर कोरियाको जस्तो घोषणा गर्नुपर्छ नत्र ठूला कुरा गरेर हुँदैन।