विराटनगर । नेकपा एमालेका नेतामाथी आक्रमण भएको छ । एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य गोपाल गुरागाईँमाथि शनिवार दिउँसो खुर्पा प्रहार भएको हो ।
दिउँसो करिब १२ बजे धनकुटा नगरपालिका–६ आत्मारास्थित आफ्नै घरमा बसिरहेका बेला ७५ बर्षीय नेता गुरागाईमाथि खुर्पा प्रहार भएको हो । पूर्व सांसदसमेत रहेका गुरागाईमाथि उनकै छिमेकी २३ बर्षीय दिनेश पोख्रेलले खुर्पा प्रहार गरेका हुन् ।
ती युवाले नेता गुरागाईलाई ‘मार्न भनेर काटेको’ प्रहरी समक्ष बयान दिएका छन् । ‘किन आक्रमण गरेको भनेर सोध्दा उसले मार्छु भनेर काटेको बताएको छ, तर किन मार्न खोजेको भन्ने खासै तार्किक कारण खुलाएको छैन,’ एसपी अधिकारीले भने ।
खुर्पा प्रहार गर्ने पोख्रेललाई घटनापछि नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए । ‘खुर्पा प्रहार गर्ने व्यक्तिलाई हामीले घटना लगत्तै पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं,’ एसपी अधिकारीले भने, ‘आक्रमणको यकिन कारण खुलेको छैन, किन आक्रमण गरियो भन्ने बिषयमा हामीले अनुसन्धान गर्दैछौं ।’