बुधबार, बैशाख १७ २०८२

बुधबार, बैशाख १७ २०८२

अघिल्लो निर्वाचनमा गण्डकीमा ४४ स्थानीय तह जितेको कांग्रेस अहिले ३५ मा खुम्चियो

अघिल्लो निर्वाचनमा गण्डकीमा ४४ स्थानीय तह जितेको कांग्रेस अहिले ३५ मा खुम्चियो

पोखरा । गण्डकी प्रदेशको स्थानीय निर्वाचनबाट गण्डकी प्रदेशमा अघिल्लो पटक नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो । तत्कालीन निर्वाचनमा कांग्रेसले गण्डकीका ४४ पालिका जितेको थियो । कांग्रेसभन्दा १० पालिका कम जित्दै नेकपा एमाले दोस्रो बनेको थियो ।

पाँच वर्षपछिको स्थानीय तह चुनावमा अघिल्लो वर्षझैं नेपाली कांग्रेस पहिलो पार्टी बनेको त छ । तर, अघिल्लो पटक जितेका थुप्रै पालिकाको नेतृत्व गुमाउन पुगेको छ । गण्डकीका ८३ पालिकाको नतिजा आइसकेको छ । अब कास्कीको पोखरा महानगरपालिका र तनहुँको व्यास नगरपालिकाको मात्रै नतिजा आउन बाँकी छ ।

८३ पालिकाको नतिजा आउँदा नेपाली कांग्रेसले ३५ पालिकामा खुम्चिएको छ । नतिजा आउन बाँकी रहेको व्यास नगरपालिकामा कांग्रेस उम्मेदवार बैकुण्ठ न्यौपानेले अग्रता लिएका छन् । नेकपा एमालेले अघिल्लो भन्दा यसपटकको निर्वाचनमा आफ्नो स्थिति सुधार गरेको छ । अघिल्लो पटक ३४ पालिका प्रमुख जितेकामा अहिले ३५ पु¥याएको छ ।

एमालेको प्रभाव भूमी भनेर चिनिएको कास्की जिल्लामा पनि यसपटकको नेकपा एमालेले हार व्यहोरेको छ । ०७४ सालको निर्वाचनमा एमालेले कास्कीका ५ पालिकामध्ये ४ पालिका प्रमुखसहित सबै पालिका उपप्रमुख जितेको थियो ।
तर, यसपटक एमालेले माछापुच्छ्रे र मादी गरेर २ पालिका गुमाइसकेको छ । पोखरा महानगरपालिकामा पनि आइतबार दिउँसो ७३ प्रतिशत गणना हुँदासम्म एमाले उम्मेदवार तीन हजार मत अन्तरले पछाडि छन् । यहाँ एमालेबाटै अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

स्याङ्जाका ११ पालिकामध्ये अघिल्लो पटक नेकपा एमालेले ९ पालिकामा जित निकालेको थियो । तर, अहिले एमालेले ६ पालिकामा सीमित हुँदा नेपाली कांग्रेसले ५ वटा पालिका जितेको छ ।

मुस्ताङमा पनि नेकपा एमालेले राम्रो सुधार गरेको छ । अघिल्लो पटक दुई पालिकामा खुम्चिएको नेकपा एमालेले यसपटक ४ पालिकामा जित निकालेको छ । मुस्ताङमा ५ गाउँपालिका छन् । म्याग्दी जिल्लामा पनि एमालेले सुधार गरेर ४ पालिकामा जित निकालेको छ । कांग्रेसले दुई पालिकाको नेतृत्व जितेको छ ।

बागलुङमा भने नेकपा एमालेले अघिल्लो पटकको विरासत गुमाएको छ । ०७४ सालमा बागलुङमा नेपाली कांग्रेस र नेकपा एमालेले ४–४ वटामा जितेका थिए । तर, यसपटक नेपाली कांग्रेसले ६ पालिका जित्दा नेकपा एमाले एउटामा मात्र सीमित भएको छ । बागलुङमा नेकपा माओवादी केन्द्रले एक र राष्ट्रिय जनमोर्चाले दुई स्थानीय तहको नेतृत्व जितेको छ ।

अघिल्लो पटक लमजुङमा ५ पालिका जितेको नेकपा एमालेले यसपटक एउटा पालिका गुमाएको छ । यसपटक ८ पालिकामध्ये नेकपा एमाले र कांग्रेसले समान ४–४ पालिका लमजुङमा जितेका छन् ।

एमालेले उल्ट्याएको नवलपुर !
नेकपा एमालेले सबैभन्दा बढी सुधार गण्डकीको नवलपुरमा गरेको छ । नवलपुरको ८ पालिकामध्ये एमालेले ६ वटा पालिकामा जित निकालेको छ । अघिल्लो निर्वाचनमा नवलपुरमा एमालेले २ वटामात्रै पालिका जितेको थियो । तर, यसपटक एमालेले अघिल्लो नतिजा उल्ट्याएको हो ।

नवलपुरमा नेकपा एमालेले यसपटक देवचुली, मध्यविन्दु, बुलिङटार, विनयीत्रिवेणी, कावासोती र बादीकाली जितेको छ । यसमध्ये अधिकांश पालिका नेपाली कांग्रेसबाट नेकपा एमालेले खोसेको हो । गैंडाकोट र हुप्सेकोटमात्रै नेपाली कांग्रेसको पोल्टामा परेको छ । यसमध्ये गैंडाकोट अघिल्लो पटक नेकपा एमालेले जितेको थियो ।

गोरखाको नतिजाले माओवादी सुधारियो
गण्डकी प्रदेशमा तेस्रो बनेको नेकपा माओवादीले संख्यात्मक रुपमा राम्रो उपलब्धी हासिल गरेको छ । नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका गोरखामा गुमाएको छ । गोरखाका ११ पालिकामध्ये ९ पालिका गुमाएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले ९ र नेकपा माओवादीले २ पालिका प्रमुखमात्रै जितेको थियो । तर, अहिले पाँच वर्षपछि माओवादीले नतिजा उल्ट्याउँदै ९ पालिका जित्यो भने कांग्रेस २ पालिकामा सीमित हुन पुगेको छ ।

यता, अघिल्लो निर्वाचनमा नेकपा माओवादीले ५ पालिका जित्दै तेस्रो स्थानमा थियो । अहिले पनि नेकपा माओवादी केन्द्र तेस्रो स्थानमै छ । तर, अघिल्लोभन्दा पालिकामा आफ्नो उपस्थिति सुधारेको छ । यसपटक नेकपा माओवादीले गण्डकीमा गोरखाको ९ सहित ११ पालिकामा जित निकालेको छ ।

नेकपा माओवादीले गोखरामा नेपाली कांग्रेसबाट दोहोरिएका पालिका प्रमुखहरुलाई नै पराजित गरेको थियो । बागलुङको ताराखोला गाउँपालिकामा अघिल्लो पटक र यसपटक पनि जित दोहो¥याएको छ ।

त्यस्तै, तनहुँको बन्दीपुर गाउँपालिका गुमाएर आँबुखैरेनी गाउँपालिकामा जितेको हो । माओवादीले अघिल्लो पटक जितेको लमजुङको दोर्दी गाउँपालिका भने यसपटक गुमाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend