काठमाडौं । पूर्व कृषि तथा पशुपंछी मन्त्री पद्मा अर्यालले वर्तमान सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नै नसकेको बताएकी छिन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्री तथा नेकपा एमालेकी नेतृ अर्यालले सरकारले कृषिलाई प्राथमिकतामा राख्न नसकेको बताएकी हुन् ।
‘कृषि क्षेत्र र यस क्षेत्रको अनुसन्धानलाई धरासायी बनाउने लक्ष्यसहित बजेट आएको छ,’ अर्यालले भनिन्, ‘कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेकै छैन । तर, कृषि क्षेत्रको विकास गर्ने भनिएको छ ।’ कृषि क्षेत्रमा उन्नती गर्न मल चाहिने भएकाले खेतीपातीको सिजनमा किसानलाई मल खै भने उनले प्रश्न नै गरिन् ।
सरकारले ल्याएको कृषि पेन्सन योजनाको समेत अर्यालले विरोध गरेकी छिन् । उनले पहिला किसानको सूचीकरण र वर्गीकरणको काम सक्न सरकार समक्ष आग्रह गरिन् । सूचीकरण, वर्गीकरण र पहिचान नगरी किसानलाई पेन्सन दिन नसकिने उनको भनाइ छ ।