काठमाडौं । नेपाल बार एशोसिएशनले ठगी आरोपको मुद्दा खेपिरहेका सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङलाई धरौटीमा छोड्ने योजना बनाइरहेको सार्वजनिक भएको अडियो प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
मंगलवार एक सञ्चारमाध्यमबाट ठगी आरोपित सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङलाई घुस खाएर धरौटीमा रिहा गर्ने विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोईराला र नेपाल बार एशोसिएशनका पूर्व कोषाध्यक्ष अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको संवाद सार्वजनिक भएको थियो । सोही संवादलाई लिएर बारले सो प्रकरणको आधिकारिकता र सत्यतथ्य अनुसन्धान गरी कसैको संलग्नता पुष्टि भएमा कसुरदारलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको हो ।
बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल बार एशोसिएशनकी महासचिव अञ्जिता खनालले सो अडियो प्रकरणमा एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको बताईन् । उनले छनबिनबाट कसुरदार ठहरिनेलाई कारबाही गर्न बारले माग गरेको बताईन् । उनले भनिन्– ‘बार त जहिल्यैपनि न्यायपालिकाको शुद्धिकरणमा लागिरहेकै संस्था हो । जुन हिजो न्युज–२४ मा जुन कार्यक्रम आयो, त्यो कार्यक्रमपछि बारले गम्भीर ध्यानाकर्षण गरायो त्यसमा । किनभने बारकै पदाधिकारी मध्येबाट निःवर्तमान हुनुभएका रुद्रप्रसाद पोखरेल र माननीय न्यायाधीश राजकुमार कोईरालाबीच जुन संवाद भयो, बार त एउटा कस्तो निकाय हो भने वाचडग हो । वाचडग हुँदाहुँदै पनि कारबाही गर्नसक्ने निकाय त होइन । त्यसकारणले त्यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण गराउँदै हामीले उहाँहरुको यदी सत्यतथ्य सार्वजनिक भयो । यदी कसुरदार ठहरिनुभयो भने उहाँहरुलाई कारबाही होस् भनेर बारले माग ग¥यो । सम्बन्धित निकायपट्टी, जस्तो बार काउन्सिल हुनसक्छ । न्यायपरिषद् हुनसक्छ । व्यक्तिको नियतमाथिको प्रश्नसँग संस्था जोड्न पाइँदैन । संस्थाभित्र त्यस्तो नियत भएको व्यक्ति हुनुहुँदो रहेछ भन्ने जान्नुप¥यो हामीले । व्यक्ति प्रवृतिसँग जोडिन्छ । त्यो प्रवृतिलाई हामीले निस्तेज गर्ने हो । हाम्रो विज्ञप्ती पनि त्यहीसँग जोडिएको छ ।’
उनले व्यक्तिको नियतमाथिको प्रश्नसँग संस्था नजोडिने भन्दै नेपाल बार एशोसिएशन न्यायालयको शुद्धिकरणमा लागिरहेको बताइन्। उनले एशोसिएशनमा आवद्ध व्यक्तिहरुमा रहेको त्यसप्रकारको प्रवृत्तिलाई निस्तेज गर्ने पनि बताइन् ।