logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु अनुपयुक्त : सांसद पौड्याल

    महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु अनुपयुक्त : सांसद पौड्याल

    3.5K
    Shares
    महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु अनुपयुक्त : सांसद पौड्याल

    काठमाडौं । राष्ट्रिय सभाकी सांसद डा. विमला राई पौड्यालले महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु अनुपयुक्त हुने बताएकी छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पौड्यालले महिलाको विवाह गर्ने उमेर १८ वर्षमा झार्नु अनुपयुक्त भएको बताएकी हुन् ।

    उनले शारीरिक, मानसिक र परिपक्वताको दृष्टिले पहिलोपल्ट आमा हुने उचित समय २० वर्षदेखि ३० वर्ष भएकाले नेपालमा विवाहको उमेर २० वर्ष बनाइएको उल्लेख गरिन् । उनले महिलाको विवाह गर्ने उमेर २० वर्ष पु¥याएसँगै नेपालमा मातृ मृत्युदर घटेको पनि बताइन् । सांसद पौड्यालले कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले विवाह गर्ने उमेर घटाउनका लागि पैरवी गरिरहेको भन्दै त्यसप्रति आपत्ति प्रकट गरिन् । उनले महिलाको विवाहयोग्य उमेरको सम्बन्धमा राष्ट्रिय वहस हुनुपर्ने बताइन् । उनले कानून मन्त्रीलाई महिलाको स्वास्थ्य र जीवनप्रति खेलवाड गर्ने अधिकार नभएको बताइन् ।

    उनले भनिन् – ‘स्वास्थ्य पढेका विज्ञले भन्छन्, शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले, परिपक्वताको दृष्टिले पहिलोपल्ट आमा हुने र बच्चा जन्माउने उचित समय २४÷२५ वर्ष पछाडी हो । २० वर्षदेखि ३० वर्ष उत्तम समय हो । यो जनस्वास्थ्यविद् र चिकित्साशास्त्रले भनेको कुरा हो । यसैलाई हेरेर हामीले २० वर्ष बनाएका हौँ । छिमेकी देश भारतले यसैलाई हेरेर १८ वर्षबाट मोदी सरकार आउनबित्तिकै २१ वर्ष बनायो । उहाँहरुले सशक्तिकरणका लागि, महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि र मातृ मृत्युदर घटाउनका लागि भन्नुभएको छ २१ वर्ष बनाइएको । छिमेकी देश चीनमा २० वर्ष महिलाको उमेर छ, २२ वर्ष पुरुषको उमेर छ । तर हाम्रा कानून मन्त्रीले के भन्नुभयो भने यो वैज्ञानिक छैन । किन वैज्ञानिक छैन ? उहाँको उत्तर के थियो ? १६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्न पाउँछ । त्यसैकारण १८ वर्षमा विवाह गर्न पाउनुपर्छ । यही हो वैज्ञानिक ? विवाह गर्ने उमेर भनेको प्रजनन स्वास्थ्यको उमेर हो । प्रजनन स्वास्थ्यमा को कतिबेला परिपक्व हुन्छ भन्नेकुरो कानून मन्त्रीले जान्ने कि स्वास्थ्य पढ्ने डाक्टरहरुले जान्ने हो ? जनस्वास्थ्यविद्हरुले भन्दैछन्, हामीले जे जति उपलब्धी अहिले हासिल गरेका छौँ, मातृ मृत्युदर घटाउनका लागि महत्वपूर्ण फ्याक्टर भनेको २० वर्षको वैवाहिक उमेर राखेको कारणले हो । त्यो घटायौँ भने हाम्रो यो उपलब्धी त घट्छ नै त्यो सँगसँगै शिक्षा, स्वास्थ्यमा, महिला हिंसाका कुरामा उनको के हालत हुन्छ ? आफ्ना छोरीलाई १८ वर्षको उमेरमा विवाह गरिदिनका लागि हामी तयार छौँ ? अनि अरुलाई भन्ने ? अनि अर्को हास्यास्पद तर्क छ, बालविवाह बढ्यो रे त्यसकारण विवाह गर्ने उमेर घटाएर १८ वर्ष पु¥याउने रे । तपाई १०० मिटर कुद्दै हुनुहुन्छ, अनि गोलपोष्ट चाहीँ ५० मिटरमा झारेर मैले जितेँ भन्ने ? कि बालविवाह घटाउनका लागि अरु उपाय अपनाउने ? त्यो भएर कानूनमन्त्री ज्यूको यो भनाई सर्वथा अनुपयुक्त छ । र यसको विषयमा राष्ट्रिय वहस हुनुपर्छ । ६ महिनाको लागि मन्त्री भएर आएर वर्षौंदेखिको हामीले लगानी गरेर, हामीले उपलब्धी गरेको महिलाको स्वास्थ्य, महिलाको जीवनप्रति खेलवाड गर्ने अधिकार कानूनमन्त्रीलाई छैन ।’

    उनले दिगो विकास लक्ष्यमा नेपालले सन् २०३० सम्ममा मातृ मृत्युदर घटाएर १ लाखमा ७० जना महिलाभन्दा कममा लैजाने प्रतिवद्धता गरिएको भन्दै यसका लागि विवाह गर्ने उमेर बढाएर २० वर्ष पु¥याइएको बताइन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend