पोखरा । पोखरा महानगरपालिकाले वडा नं ३३ भरतपोखरीमा ल्यान्डफिड साइट राख्ने तयारी गरिरहेको भन्दै स्थानीयवासीले त्यसको विरोध जनाएका छन् । भरतपोखरीवासी नागरिकहरूको संयोजनमा आज ‘भरतपोखरीमा ल्यान्डफिल्डः कति ठीक ? कति बेठिक ?’ शीर्षकमा आयोजित छलफल कार्यक्रमका वक्ताले सरोकारवालाबीच छलफल नै नगरी गरिएको भरतपोखरीमा ल्यान्डफिल्ड साइड राख्ने निर्णय तुरुन्त खारेजी गर्न माग गरेका छन् ।
कार्यक्रम संयोजक हेमबहादुर थापा पराजुलीले सरोकारवालाबीच कुनै छलफल नगरी महानगरपालिकाको बजेटमा वडा नं ३३ टिमुरपाटामा ल्यान्डफिल्ड साइट व्यवस्थापनका लागि रु १० करोड विनियोजन गरिएको विषयप्रति आफूहरूको गम्भीर रुपमा ध्यान आकृष्ट भएको बताए ।
भौगोलिक अवस्थिति अनुसार आवास क्षेत्रका लागि पोखराकै उत्कृष्टस्थलका रुपमा रहेको भरतपोखरी पर्यटकीय गन्तव्यसमेत भएको बताउँदै उनले यस स्थानमा कुनै पनि रुपमा ल्यान्डफिल्ड साइट राख्न स्थानीयवासी तयार नरहेको स्पष्ट पारे ।
पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने सम्बन्धमा आफूहरू नेतृत्वमा आउनुपूर्व अघिल्लो स्थानीय सरकारको पालामा महानगर कार्यपालिकाको ५५औँ बैठकले निर्णय गरेको जानकारी गराए । यो विषय आम वडावासीको चासो र सरोकारको विषय भएको बताउँदै उनले जनताको भावनाअनुसार अघि बढ्ने विश्वास व्यक्त गरे ।