काठमाडौँ । काठमाडौँ सामाखुसी खोलामा आइतवार बेलुका आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षका बालक साजन मगर अझै फेला परेका छैनन् ।
खोलाले बगाउँदा बेपत्ता भएका बालक मगरको खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोली खटिएको र अहिलेसम्म पनि फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनको खोजी भइरहेको छ ।
काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत बालक आइतवार बेलुका फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका हुन् ।