logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ओडारमा बस्दै आएका राहुलको उद्धार

    ओडारमा बस्दै आएका राहुलको उद्धार

    1.2K
    Shares
    ओडारमा बस्दै आएका राहुलको उद्धार

    म्याग्दी । बेनी नगरपालिका–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई आज उद्धार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनिका ५० वर्षीय विकलाई उद्धार गरिएको हो ।

    बेनी नगरपालिकाको उपप्रमुख ज्योति लामिछानेले विकलाई ओडारबाट उद्धार गरेर मानव सेवा आश्रमको बागलुङ शाखामा लगिएको जानकारी दिइन् ।

    ‘एक वर्षदेखि ओडारमा बस्दै आउनुभएका राहुलको अवस्था नारकीय थियो । धेरै पटकको प्रयासपछि आज आश्रममा जान मान्नुभयो’, उनले भनिन्, ‘घरका सदस्य नभएका र सामाजिक बहिष्करणमा पर्नुभएका उहाँलाई पुनस्र्थापना नहुँदासम्म मानव सेवा आश्रममा राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौँ ।’

    शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने र मागेर ल्याएको खानेकुरा पकाएर खाने गरेका राहुललाई नगर उपप्रमुख लामिछाने र नगरप्रहरीको टोलीले उद्धार गरेको थियो । छोराहरुको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओडारमा बस्न बाध्य भएका राहुलका बारेमा २०७९ साल फागुन ८ गते राससमार्फत समाचार सार्वजनिक भएको थियो ।

    ‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरे,’ राहुलले भने, ‘उमेर घर्किएपछि गाउँ फर्कंदासाथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओडारमा बस्नु परेको हो ।’ उनले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका थिए ।

    सो ओडर बेनीबजारदेखि करिब एक किलोमिटर नजिकको दूरीमा छ । सडकको कान्लामाथिको सानो ओडारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका राहुलको शरीर चिसोले सुन्निएको छ । काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेर भेटेको आफैँले पकाएर खाने गरेका कुरिलाखर्कका सुरेश ढुङ्गानाले बताए । ‘मेरो भैँसी फार्मसँगै जोडिएको ओडारमा बस्न थाल्नुभएको डेढ वर्ष जति भयो,’ उनले भने, ‘काम गर्न सक्दिन । मलाई यही ठीक छ भन्दै अन्यत्र जान मान्नुभएको थिएन ।’

    राहुल बस्दै आएको ओडारमा दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा र पानीको बाछिटा सिधै छिर्छ । मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्ने राहुललाई रातमा चितुवाको डर रहेको थियो ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend