logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • चुनावमा पराजय भएपछि बेलायतका प्रधानमन्त्री ऋषि सुनकले दिए राजीनामा, लेबर नेता स्टार्मर नयाँ प्रधानमन्त्री

    चुनावमा पराजय भएपछि बेलायतका प्रधानमन्त्री ऋषि सुनकले दिए राजीनामा, लेबर नेता स्टार्मर नयाँ प्रधानमन्त्री

    966
    Shares
    चुनावमा पराजय भएपछि बेलायतका प्रधानमन्त्री ऋषि सुनकले दिए राजीनामा, लेबर नेता स्टार्मर नयाँ प्रधानमन्त्री

    बीबीसी । बेलायतमा भएको संसदीय निर्वाचनमा किअर स्टार्मरको लेबर पार्टीले अध्यधिक बहुमत पाएपछि कन्जर्भेटिभ पार्टीका प्रधानमन्त्री ऋषि सुनकले राजीनामा दिएका छन्।

    राजा चार्ल्सलाई राजीनामा दिएर उनी बकिङ्गम दरबारबाट पूर्वप्रधानमन्त्रीको हैसियतमा बाहिरिए। अब लेबर नेता स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने छन्।

    यसअघि लेबर पार्टीको विजय स्वीकार गर्दै सुनकले पार्टीको पराजयका लागि क्षमायाचना गरेका थिए भने स्टार्मरले अब परिवर्तन सुरु हुन्छ भनेका थिए।

    विगत १४ वर्षदेखि कन्जर्भेटिभ पार्टीको सरकार रहेको बेलायतमा यसपालि लेबर पार्टीले ६ सय ५० मध्ये ४ सय १२ सीट जितेको छ। बेलायतको संसद्‌मा बहुमतका लागि ३ सय २६ सीट आवश्यक पर्छ।

    यसपालि हाउस अफ कमन्समा पुग्ने महिलाको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक छ। अहिलेसम्म २ सय ४० भन्दा बढी महिला उम्मेदवार सांसद निर्वाचित भइसकेका छन्। सन् २०१९ को निर्वाचनमा २ सय २० महिला सांसद थिए।

    आफ्नो निर्वाचन क्षेत्र सुरक्षित रहेको पक्का भएपछि सुनकले लन्डन फर्किएर राजासँग भेट गरेका थिए। पत्नी अक्षता मूर्तिसँग बकिङ्गम दरबार गएका सुनकले राजालाई आफ्नो राजीनामा बुझाए।
    बेलायतमा राजाले सबैभन्दा धेरै सीट जितेको दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। बहुमत पाएको दलका नेता स्टार्मर अब प्रधानमन्त्री नियुक्त हुने छन्।

    अब राजा र सर किअर स्टार्मरबीच भेटघाट हुने छ। त्यस क्रममा राजाले स्टार्मरलाई नयाँ सरकार गठन गर्न र सरकारको नेतृत्व गर्न निम्तो दिने छन्। नराम्रो चुनावी नजिता बेहोरेका ऋषि सुनकले यसअघि ‘टेन डाउनिङ स्ट्रीट’ भनिने प्रधानमन्त्री कार्यालय छोडेका छन्।

    त्यहाँबाट बाहिरिँदै गर्दा उनले बेलायत संसारकै सबैभन्दा उत्कृष्ट देश भएको बताए। उनले आफ्ना सहकार्मी र परिवारलाई धन्यवाद पनि दिए। उनले लेबर नेता स्टार्मरको प्रशंसा गर्दै उनी शालीन सार्वजनिक छवि व्यक्ति भएको र आफूले उनको सम्मान गर्ने गरेको बताए।

    उनले आफू केही समयपछि कन्जर्भेटिभ पार्टीको नेतृत्वबाट पनि हट्ने घोषणा गरे। संसद्‌मा दोस्रो धेरै सीट जित्ने पार्टीका नेता प्रमुख प्रतिपक्षी दलका नेता बन्छन्। नवनिर्वाचित संसद्को पहिलो बैठक जुलाई ९ मा बस्ने छ।

    बीबीसीको प्रक्षेपणमा यसपालि ६० प्रतिशतजति मात्रै मत खसेको देखिएको छ। त्यसमध्ये लेबर पार्टीले ३५ प्रतिशतजति, प्रधानमन्त्री ऋषि सुनकको कन्जर्भेटिभ पार्टीले २४ प्रतिशतजति अनि रिफर्म यूके पार्टीले १५ प्रतिशतजति मत पाएको देखिन्छ।

    अहिलेसम्मको निर्वाचनमा यसपालि कन्जर्भेटिभ पार्टीले पाएको मत सबैभन्दा कम हो। बिहीवार भएको मतदानमा ‘एक्जिट पोल’ भनिने सर्वेक्षणहरूले स्टार्मरको लेबर पार्टीले फराकिलो जित हात पार्ने देखाएका थिए। एक्जिट पोल वास्तविक नतिजा नभए पनि विगतका निर्वाचनहरूमा यस्ता सर्वेक्षणहरूको प्रक्षेपण मिलेको देखिन्छ।

    प्रधानमन्त्री बन्न लागेका सर किअर स्टार्मर को हुन् ?

    कानुनी पृष्ठभूमिका सर किअर स्टार्मर सन् २०१५ मा मात्रै यूकेको सांसद बनेका हुन्।

    लन्डनको होल्बर्न एन्ड सेन्ट प्यान्क्रस क्षेत्रबाट निर्वाचित भएपछि उनी सांसद बनेका थिए।

    लेबर पार्टीमा छाया गृहमन्त्री जिम्मेवारी पाएका स्टार्मरलाई सन् २०१९ मा जेरमी कोर्बिनको स्थानमा पार्टी नेताको जिम्मेवारी दिइएको थियो।

    याे पनि : 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend