logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रधानमन्त्री प्रचण्ड पदमुक्त, ओली र देउवालाई नयाँ सरकार गठनका लागि बाटो खुल्यो

    प्रधानमन्त्री प्रचण्ड पदमुक्त, ओली र देउवालाई नयाँ सरकार गठनका लागि बाटो खुल्यो

    1.4K
    Shares
    प्रधानमन्त्री प्रचण्ड पदमुक्त, ओली र देउवालाई नयाँ सरकार गठनका लागि बाटो खुल्यो

    काठमाडौं । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।

    असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । २७५ सदस्यीय प्रतिनिधि सभामा कुल २५८ सांसदको उपस्थिति रहेकामा प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो ।

    उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ ।

    यो पटक कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै उनी अल्पमतमा परे ।  उनलाई माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले भने विपक्षमा मत दिए।

    प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

    ९९ प्रतिशत मत २४ प्रतिशतमा झर्यो

    २०७९ साल पुस ११ गते एमालेसहित ६ दलको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री भएका उनले साढे १८ महिनामा पाँचौँपटक विश्वासको मत लिएर रेकर्ड राखेका थिए । यस अवधिमा प्रचण्डले सबैभन्दा ठुलो दल कांग्रेससँग एक पटक र दोस्रो ठुलो दल एमालेसँग दुई पटक सत्ता सहकार्य गरेका थिए ।

    पहिलो पटक पुस २६ गते विश्वासको मत लिँदा उनले संसदका कुल उपस्थित सांसदमध्ये ९९.२५ प्रतिशत मत पाएर रेकर्ड राखेका थिए । पाँचौँ पटकमा आइपुग्दा ७५.५२ प्रतिशत मत गुमाएर सत्ताबाट बर्हिगमन भएका छन् ।

    प्रचण्डले पहिलोपटक विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दा पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कुल २७० सांसदले मतदान गरेका थिए ।

    त्यसबेला सत्ता पक्षबाट माओवादीसहित एमाले, रास्वपा, राप्रपा, जसपा, नाउपाले र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिए । यस्तै विपक्षी दल कांग्रेस, एकीकृत समाजवादी, लोसपा र केही स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका थिए ।

    तर राष्ट्रपतिको निर्वाचनपूर्व फागुन १२ गते दुई महिनामै एमालेसँग सहकार्य तोडेका उनी पुरानै गठबन्धनमा फर्किएका थिएँ । एमाले र राप्रपा सत्ताबाट बाहिरिएपछि उनले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । उपस्थित सङ्ख्या २६२ रहेकोमा विश्वासको मतको पक्षमा १७२, विपक्षमा ८९ मत परेको थियो । त्यतिबेला प्रधानमन्त्री प्रचण्डले ६४.१८ प्रतिशत मत पाए ।

    दोस्रो पटक प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिएका थिए ।

    फेरि एमालेसँग मिलेर २०८० फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेपछि तेस्रो पटक फागुन ३० गते प्रचण्डले विश्वासको मत लिएका थिए । त्यतिबेला प्रधानमन्त्री प्रचण्डलाई संसदमा १ सय ५७ जनाले मत दिए । उनले ५८.५८ प्रतिशत मत पाएका थिए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend