काठमाडौँ । नेकपा (एमाले) का सांसद गोकर्णराज विष्टले मुलुकले भोगेको समस्या समाधान गर्दै जनतामा आशा जगाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताएका छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा विश्वासको मत माग्दै उनले आर्थिक विकास, समृद्धि र जनताको बृहत्तर हितका लागि साझा दृष्टिकोणका साथ अगाडि बढ्न सबै राजनीतिक दललाई आग्रह गरे ।
खुसुक्क लुकेर संविधानको संशोधन नगरिने जानकारी दिँदै उनले समयको माग जनताको चाहना अनुसार गरिने बताए । सांसद विष्टले जनताले प्राप्त गरेको अधिकार कोही कसैले खोस्न नसक्ने स्पष्ट पारे । एमाले जनताका पक्षमा विगतदेखि संघर्ष गर्दै आएको पार्टी भएकाले समावेशी, समानुपातिक प्रतिनिधित्वको विपक्षमा कहिल्यै जान नसक्ने दृढता व्यक्त गरे ।
जनताको समर्थनमा आफूहरुले विश्वास गर्ने र जनतालाई साथमा लिएर अगाडि बढ्ने भएकाले नेपाली कांग्रेस र एमाले एकआपसमा मिल्दा लोकतन्त्र धरापमा पर्छ कि भनेर आशङ्का नगर्न उनले प्रतिपक्षी दललाई आग्रह गरे ।
वर्तमान गठबन्धन मुलुकमा व्याप्त निराशालाई चिरेर आशामा परिणत गर्ने, संविधानलाई समृद्ध पार्ने, जनताको चाहनालाई सम्बोधन गर्ने लक्ष्य राखिएको उनको कथन छ । सांसद विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मुलुक सबल बन्ने विश्वास व्यक्त गरे ।
अघिल्ला दुई वटा कार्यकाल भन्दा यस पटक प्रधानमन्त्रीको कार्यकाल थप सफल हुने र नेपाली जनताको पक्षमा काम गर्ने उनको भनाइ छ । सांसद विष्टले वर्तमान गठबन्धनले जनतामा पैदा भएको निराशालाई चिरेर आशा जगाउने र मुलुकलाई थप समृद्ध बनाउने दृढता व्यक्त गरे ।