logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • वीरगञ्ज भन्सारको कारोबार घट्यो

    वीरगञ्ज भन्सारको कारोबार घट्यो

    588
    Shares
    वीरगञ्ज भन्सारको कारोबार घट्यो

    वीरगञ्ज, पर्सा । प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय मार्फत् हुने आयात र निर्यात दुवैमा गिरावट आएको छ । गत आर्थिक वर्षमा विदेशीमुलुकबाट कम मात्रामा सामान नेपाल भित्रिदा तथा नेपालबाट विदेशी मुलुकमा हुने निर्यातमा पनि कमी आउँदा समग्र यो नाका हुँदै हुने वैदेशिक व्यापार नै खुम्चिन पुगेको हो ।

    आव २०८०–८१ मा यो नाका हुँदै ६ खर्ब ९ अर्ब २८ करोड ११ लाख १४ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । जबकी आव २०७९–८० को तुलनामा गत आवमा मात्रै आयात १२.८५ प्रतिशतले घटेको छ । आव २०७९–८० मा ६ खर्ब ९९ अर्ब १२ करोड ६ लाख ६९ हजार बराबरको वस्तु तथा सामान नेपाल आयात भएको थियो ।

    विश्वका एक सय १२ मुलुकबाट नेपालमा विभिन्न खालका वस्तु तथा सामान आयात हुने गर्छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले गत आवमा समग्र मुलुकभरि आर्थिक शिथिलताको कारणले वैदेशिक व्यापार खुम्चिएको बताए ।

    ‘‘गत आवमा समग्र मुलुकभरिको अर्थतन्त्र सुस्ताएको कारणले आयात र निर्यात दुवै खुम्चिएको छ,’’ उनले भने, ‘‘अघिल्लो आवको तुलनामा गत आवमा आयात घटेपनि भन्सारका अन्य सूचक पनि राम्रो भएकाले केही मात्रामा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।’’

    कार्यालयका अनुसार गत आवमा आयात मात्रै होइन, वीरगञ्ज भन्सार कार्यालय हुदैँ विदेशी मुलुकमा हुने निर्यातमा पनि गिरावट देखिएको छ । गत आवमा ३१ अर्ब ८५ करोड ७१ लाख २७ हजार मूल्य बराबरका नेपाली सामान विदेशी मुलुकमा निर्यात भएको छ ।

    जबकी अघिल्लो आव २०७९–८० मा यो नाका हुँदै ३७ अर्ब २३ करोड १८ लाख ७४ हजार मूल्य बराबरको वस्तु तथा सामान निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा मात्रै १४ दशमलव ४४ प्रतिशतले निर्यातमा कमी आएको छ । यो नाका हुँदै करिव ६० मुलुकमा विभिन्न नेपाली उत्पादन निर्यात हुने गर्छ ।

    आव २०७९–८० को तुलनामा यो नाका हुँदै हुने वैदेशिक व्यापारमा १२ दशमलव ९३ प्रतिशत गिरावट आएको छ । आव २०८०–८१ म यो नाका हुँदै छ खर्ब ४१ अर्ब १३ करोड ८२ लाख ४१ हजारको वैदेशिक व्यापार भएको थियो ।

    जबकी अघिल्लो आव २०७९–८० मा भने यो नाका हुँदै कुल वैदेशिक व्यापार सात खर्ब ३६ अर्ब ३५ करोड २५ लाख ४३ हजार रहेको छ । यो नाकाबाट हुने वैदेशिक व्यापारमध्ये आयातको हिस्सा ९५ प्रतिशत र निर्यातको हिस्सा पाँच प्रतिशत रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend