दोहा (कतार) । चौध वर्ष अगाडि मनभरी परिवारको माया र देशको सम्झना लिएर कतार आइपुगेकी कल्पना घर्ती क्षेत्री यतिबेला यहाँका फराकिला र चिल्ला सडकमा ट्याक्सी हुँइकाउछिन । ट्याक्सीको स्टेरिङ घुमाउँदा घुमाउँदै घर जान फुर्सद नमिलेको पनि ७ वर्ष भैसकेछ । यी सात वर्ष कति छिटो बिते कल्पना आफैलाई पनि पत्तो छैन ।
हाउसकिपिङ सुपरभाइजरको भिजामा कतार छिरेकी उनी कम्पनीको गाडी चलाउँदा चलाउँदै ट्याक्सी ड्राइभर बनिन् । कतारमा नेपाली महिलाका लागि ट्याक्सी चलाउनु सानो हिम्मत र साहसको काम होइन । दोहामा भेटिएका नेपालीले समेत उनको साहस र हिम्मतको तारिफ गर्छन ।
कल्पनाले भने त्यही हिम्मतले रोजेको पेसाबाटै आज नाम, दाम र आत्मसन्तुष्टि सबै आर्जेकी छन् । दोहामा उनलाई नचिन्ने सायदै होलान् धेरैले उनलाई ‘कोहिनुर’ भन्दा रहेछन ।
ट्याक्सीको अगाडिपट्टी दुई वटा नेपाली राष्ट्रिय झण्डालाई क्रस बनाएर देशप्रेम प्रकट गरेकी छन् । त्यो देख्ने अधिकांश बिदेशीले तिम्रो देशको झण्डा कस्तो युनिक छ है भन्दा खुसीले मन फुरुङ्ग हुने गरेको उनी बताउछिन । “पहिले कम्पनीको गाडी चलाउँदा त्यही गाडीमा राखेकी थिएँ, अहिले ट्याक्सीमा त्यही झण्डा राखेकी छु”, उनले भनिन ।
विकसित कतारको आलिशान सहरमा हरेक दिन ट्याक्सीको स्टेरिङ घुमाउँदै पुग्दो आम्दानी गरिरहेकी उनले आफ्नो विगत पनि संघर्ष र पीडाका कथाले भरिएको सुनाइन् ।
हातमा पासपोर्ट लिएर जागिरको खोजीमा प्रत्येक दिन काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने सयौँ युवाको भीडमा १४ वर्षअघि उनी पनि मिसिएकी थिइन् । दुई वर्ष साउदी अरबमा हाउसकिपिङका रुपमा गरेको कामको अनुभवले उनलाई दोहामा हाउसकिपिङ सुपरभाइजरको जागिर हात परेको थियो । जुन तुलनात्मक रुपमा राम्रो पनि थियो ।
केही वर्ष राम्रो काम गरेपछि उनी रिसेप्सनिष्टमा प्रमोसन भइन् । जागिर राम्रै चलिरहेकै थियो । तर सधैभरी भने जस्तो कहाँ हुन्छ र ? कोरोना महामारीले विश्वभर दुःख दिएको समयमा उनको जीवनमा पनि त्यसको असर देखियो । फलतः उनले जागिरबाट हात धुनुपर्यो ।
“अवस्था यस्तो आयो कि कम्पनीमा जागिर छैन, घर फर्कन लकडाउन छ । खल्तीमा तरकारी किन्ने पैसा पनि नहुने अवस्था भयो”, गुल्मी मदाने–३ कि कल्पना ‘फ्ल्यासब्याग’ मा पुगिन् । कम्पनीमा जागिर नै नरहेपछि उनी काम खोज्दै दोहाका कुना कुनासम्म पुगिन् । तर भने जस्तो जागिर कतै पाइएन् । बल्ल बल्ल पाइएको जागिरमा पनि साह्रै थोरै तलब हुने रहेछ । तर विकल्प नहुँदा केही समय थोरै पैसामा भए पनि जागिर गर्नैपर्ने अवस्था आयो ।
यसैसमयमा उनको मनमा ट्याक्सी चलाउन पाए हुन्थ्यो भन्ने सोच पलाएको रहेछ । कतारमा ट्याक्सी चालक महिला निकै कम छन् । त्यसमाथि कतारी महिलाहरु पुरुष चालक भएको ट्याक्सीमा बस्न रुचाउँदैनन् । यहाँका महिलाहरु चालक महिला भएकै ट्याक्सी रोज्छन् । यदि महिलाका रुपमा ट्याक्सी चलाउन पाए आम्दानी राम्रो हुन्थ्यो भन्ने सोचले उनले ट्याक्सी चालक बन्ने सपना देखेकी रहिछन् ।
तर ट्याक्सी चलाउन उनीसँग लाइसेन्स थिएन । लाइसेन्स बनाउनका लागि कम्पनीबाट सिफारिस पत्र चाहिन्थ्यो । कम्पनीबाट सिफारिस बनाउँछुभन्दा धेरैले खिसिट्युरी गरेको क्षण उनको मनमा अझै पनि छ । कतैबाट पनि सहयोग नपाएपछि चालक बन्ने उनको सोच त्यो समयमा अघि बढ्न सकेन ।
संयोग कस्तो भने त्यसको केही समयमै कतारी सरकारले लाइसेन्स निकाल्नका लागि कम्पनीको सिफारिस अनिवार्यको नियम हटाइदियो । जसले उनलाई ट्याक्सी चालक बन्ने बाटो खुल्यो ।
“एक दिन कम्पनीमा काम गर्दैगर्दा तिलु शर्मा पौडेल दाईको स्ट्याटसमा कम्पनीको पत्र नचाहिने सूचना देखे, तुरुन्तै उहाँलार्ई फोन गरेर सबै कुरा बुझे, कम्पनीमा आधा घण्टाको छुट्टी लिएर तुरुन्तै ड्राइभिङ स्कुलमा भर्नाबारे बुझ्न गएँ”, उनले भनिन् ।
ड्राइभिङ सिक्नका लागि ३७ सय रियाल अर्थात झण्डै सवा एक लाख रुपैयाँ चाहिने रहेछ । उनीसँग त्यति धेरै पैसा थिएन । तर जसरी पनि चालक बन्छु भन्ने अठोटले उनले चिनेजानेका दाईहरुसँग सापटी मागिन् । उनका अनुसार दाईहरु तिलु शर्मा, झविन्द्र आचार्य, देव लम्साल, रमेश पौडेल र साथी दर्शन सुनारलगायतले पैसा जुटाउन सहयोग गर्नुभएको थियो । पैसा जम्मा भएपछि उनले भोलिपल्टै आँखा परीक्षण गरिन् र ड्राइभिङ स्कुलमा भर्ना भइन् ।
“इच्छा राखेपछि हुने रहेछ, दाईहरुले ठूलो सहयोग गरेर एकै दिनमा मलाई त्यो पैसा उपलब्ध गराइदिनुभयो, मैले १४ दिनमै सडकमा गाडी निकाल्न सक्ने भइसकेकी थिएँ, पहिलो प्रयासमै लाइसेन्स पनि निकाले”, उनले भनिन् । हाल दोहामा नेपाली महिला चालकहरुको संख्या निकै कम छ । उनका अनुसार फिलिपिन्स, मोरक्को, इथोपिया, केन्यालगायतका मुलुकका महिला चालक धेरै छन् ।
दुःख र कमाईसँगसँगै
दोहामा ट्याक्सी चलाउन त्यति सजिलो छैन । गर्मीको समयमा निकै गाह्रो हुन्छ । ट्याक्सीभित्र एसी भए पनि बाहिरको अत्यधिक तातो हावाले निकै गाह्रो बनाउँछ । फेरि ट्याक्सीको कमाइ पहिले जस्तो पनि छैन । दोहामा अहिले २० हजारभन्दा बढी ट्याक्सी गुड्छन् । पछिल्लो समय मेट्रो बनेपछि मानिसहरु त्यसमार्फत यात्रा गर्न थाले । मेट्रोको यात्रामा खर्च र समयका दुवै बचत हुने भयो । उनका शब्दमा उभर चलाउनेहरुलाई अझ बढी गाह्रो छ ।
“काम यति गाह्रो हुन्छ कि कहिलेकाँही घरबाट हिँड्दा फेरि फर्कन पाउँला कि नपाउँला भन्ने पनि हुन्छ, दिनभर ट्याक्सी चलाएर भने जस्तो पैसा कमाएर घर फर्कँदा शरीर थकित भए पनि मन भने खुसी नै हुन्छ”, उनले भनिन्, “अहिले विद्यालय र कलेज बन्द भएकाले व्यापार कम छ । होइन भने दिउँसो खाना र खाजा खाने पनि फुर्सद हुँदैन ।” उनका अनुसार दिनमा तेलको खर्च कटाएर औसतमा तीन सय देखी पाँच सय रियालसम्म कमाइ हुन्छ । उनले सबैभन्दा धेरै भनेको एक दिनमा पाँच सय रियालसम्म पनि कमाएकी छन् ।
“कमाइ राम्रो हुन्छ तर खर्च पनि उसैगरी हुन्छ । कोठा भाडादेखि गाडी मर्मत, आइडीमा हुने सबै खर्च कटाउँदा मासिक दुई लाख रुपैयाँसम्म बचाउन सक्छु”, उनले भनिन्, “दिनमा कम्तीमा तीन सय रियाल कमाइ होस् भन्ने हुन्छ, छिट्टै कमाइयो भने कोठामा पनि छिट्टै पुग्छु ।”
ट्याक्सी चलाउन थालेदेखि अहिलेसम्म उनी जरिवानामा भने परेकी छैनन् । कुनै त्रुटी भइहाल्यो भने यहाँको नियमअनुसार जरिवानाको रकम ठूलो हुन्छ भन्ने उनलाई थाहा छ, त्यसैले आजसम्म सचेत भएकाले जरिवानामा नपरेको उनले सुनाइन् ।
“पहिलो कुरा त नियममै रहेर ट्याक्सी चलाउनै पर्छ, त्यति गर्दा पनि कहिलेकाँही गल्ती हुन्छ । तर अहिलेसम्म त्यो समस्या आएको छैन, कतिपय नेपालीहरु त जरिवाना तिर्दा तिर्दा घर पनि फर्कन नपाएको अवस्था छ”, उनले भनिन्, “जरिवाना नै १० हजार रियालसम्म हुन्छ त्यत्रो पैसा तिरेर के लिएर घर जानु ?”