काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा हो–हल्ला गरेको अभियोगमा पक्राउ परेका युवाहरुलाई रिहा गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले गौरा पर्वमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले विरोध भाषण गरेका भन्दै युवाहरुलाई अराजक शैली भनेर पक्राउ गर्नु गलत भएको बताए । उनले युवाहरुका बिरोधका बोली सरकारले सुन्नुपर्ने बताए ।
उनले स्वदेशमा अवसर र रोजगारीबाट वञ्चित युवाहरुले सिंहदरबार भित्रका बेइमानहरुलाई खबरदारी गरिएको भन्दै सो कारण समाउन नपाइने बताए । उनले युवाहरुलाई त्रसित नबनाउन पनि आग्रह गरे ।
उनले भने – ‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा टुँडिखेलमा युवाहरुले विरोध भाषण गरे । यसलाई अराजक शैली अनेक बहाना लगाएर सरकारले त्यो भिडियो फुटेजहरु स्क्रिनिङ गरिगरी हिजोबाट ति युवा साथीहरुलाई हिरासतमा राख्न थालेको रहेछ । यो विल्कुल गलत भएको छ । बिरोधका बोलीहरु त्यो पनि युवाले राखेको । राज्यले सुन्न सक्ने धैर्यता राख्नुपर्छ ।
स्वदेशमा अवसरबाटवञ्चित, रोजगारीबाट बञ्चित बनाइएका ति युवाहरुले सिंहदरबार भित्रका बेइमानहरुलाई खबरदारी गर्दैगर्दा यसरी समाउन पाइदैनँ । ति युवाहरुको तत्काल रिहाको माग गर्न चाहान्छु । साथै विभिन्न जिल्लामा स्टाटस लेखेकै भरमा युवाहरुलाई समातिएको समाचार आएको छ । कमिलाको उड्ने बेलामा प्वाख पलाउँछ । कमिलाको उड्ने बेलामा प्वाँख पलाएको जस्तो नहोस् । हामी पनि यस विषयमा संवेदनशील छौँ ।
तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाँख पलाएको जस्तै हुन्छ । गृहमन्त्रीज्यूलाई गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु, युवाहरुलाई समात्ने हो भने टुडिखेल भरि भरिएका युवाहरु सबै समाउनु पर्छ । क्यामेराले भेटेको थिएन होला के गर्नुहुन्छ ? युवाहरुलाई त्रसित नबनाउनुस् । म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’
उनले विभिन्न जिल्लामा स्टाटस लेखेको भरमा युवाहरुलाई समातिएको भन्दै यस्तो रवैया नदेखाउन सरकारलाई चेतावनी दिए ।