काठमाडौं – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ।
प्रचण्डनिवास खुमलटारमा सुरु भएको वार्तामा पार्टी उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन्।
पार्टीभित्र विवाद चर्किएको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । पार्टीभित्रको विवाद समाधानबारे यसअघि हिजो पनि ओली र प्रचण्डबीच छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा विवाद झन् चर्केको छ। ओलीले अध्यादेश ल्याएपछि प्रचण्ड पक्षधर सांसदहरुले सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाउन पुगेपछि अध्यादेश फिर्ता गर्ने र विशेष अधिवेशनको माग नगर्ने सहमति बनेको थियो।