मुगु । मुगुको एक विद्यालयमा कक्षा ८ मा अध्यनरत एक विद्यार्थीले मानसिक दवावमा पर्दा आत्महत्या गरेको आरोप लगाइएको छ ।
जिल्ला सदरमुकाम गमगढीस्थित महाकाली नमुना माध्यामिक विद्यालय कक्षा ८ मा अध्यनरत छायानाथ रारा नगरपालिका वडा न २ तलितुम गाउँका वर्ष १५ का सागर तिरुवालाई नेपाल प्रहरीले अनावश्यक दवाव दिँदा आत्महत्या गरेको युवाहरुले आरोप लगाएका हुन् ।
सागरले गत ४ गते राती भाडामा बस्दै आएको मामाको घरमा झुन्डिएर आत्महत्या गरेका थिए । आइतबार साझ मृतक सागरप्रति श्रदान्जली दिन आयोजित कार्यक्रममा युवा अगुवाहरु रवीन मल्ल, जनक चौलागाइ, राजेन्द्र कुमार शाही लगायतका युवा तथा सागरका आफन्तहरुले यस्तो आरोप लगाएका हुन् ।
श्रदाञ्जली कार्यक्रममा बोल्दै युवा अगुवा रवीन मल्लले भने, ‘सागर भाइले आत्महत्या गरेका होइनन् बालकमाथि झुटो आरोप लगाइदा मानसिक टर्चर सहन नसकेर आत्महत्या गरेकाले यो हत्या गरिएको हो ।’ उनले भने, ‘सागरको न्यायका लागि हामी जस्तोसुकै मूल्य चुकाउन तयार छौँ, प्रहरीले विद्यालय हाताबाट स्कुल ड्रेस मै काम छ भनी बजार हुँदै प्रहरी कार्यालयमा लिएपछि बाल मनोविज्ञानमा असर परेको र प्रहरी कार्यालयमा पनि प्रहरिले अनावश्यक दवाव दिदा सागर आत्महत्या गर्न बाध्य भए । हामी प्रहरीको विरोधी होइनौ तर प्रहरी कै दवावले आत्महत्या गरिएकाले प्रहरिले सत्य, तथ्य र निस्पक्ष अनुसन्धान गरि जोसुकै होस बालकलाइ आत्महत्या गर्न बाध्य पार्ने व्यक्तिलाइ कानुनी कारवाही गरोस ।’
के थियो घटना ?
घटनाक्रम अनुसार सदरमुकाम गमगढिमा व्यापार गर्दै आएका एक व्यापारीको पसलबाट केही महिना अघि चोरी भएको भनिएको जुत्ता लगाएर एक बालक बजारमा घुम्दै गरेको देखिपछी ती व्यापारी बालकलाइ बोलाएर सोधपुछ गर्छन् ।
बालकले आफु र सागर विकले ज्याकेट र जुत्ता साटासाट गरेको बताउँछन् । बालकलाई लिएर व्यापारी गमगढी स्थित कालिका मालिका अस्थायी प्रहरी विटमा निवेदन साथ पुग्छन् । प्रहरीले निवेदन अध्ययन र बालकलाइ सोधपुछ पछि अर्का बालक सागर विकलाइ सोधपुछ गर्न बालकलाई लिन महाकाली विद्यालयमा लिन पुग्छ ।
विद्यालयमा कक्षा चलिरहेकाले प्रहरीले कक्षा ८ पढने सागर विकसङ्ग केही कुरामा सोधपुछ गर्नुछ पठाइ दिनुपर्यो भनेपछी विद्यालयका कर्मचारीले विद्यार्थी सागरलाइ बोलाउँछ र प्रहरीले बालक सागर विकलाइ आफुसँङ्गै प्रहरी विटमा लिन्छ । विटमा छलफल गर्दा नटुग्गिएपछि दुबै बालकबारे निवेदन दिन र थप छलफल र कानुनी उपचारका लागि व्यापारी र दुबै बालकका आफन्तहरुलाई जिल्ला प्रहरी कार्यालयमा जानुस् भनेपछि सबैजना जिल्ला प्रहरी कार्यालयमा जान्छन् । ३ गते दिउँसो करिव १ बजे जिल्ला प्रहरी कार्यालय पुगेका दुबै पक्षलाई छलफल गर्न र मिल्न भन्दै प्रहरीले कार्यालय परिसरको एक छेउमा बसाल्छ यसै बीच प्रहरीले सोधपुछ गर्न भन्दै बालक सागर विकलाई प्रहरी कार्यालयको एक कोठामा लग्छ त्यहाँ सागरलाई सोधपुछपछि प्रहरीले समय धेरै वित्यो तपाईहरु मिल्नु भएन, को दोषी छ ? हामी बजारका सिसि क्यामारा हेरौँ, पुन छलफल गर्न ५ गते विहान १० बजे आउनु होला भन्दै दुबै पक्षलाइ घर पठाउँछन् । आरोपित बालकलाई उसकी आमा पानमता विकको जिम्मामा प्रहरीले घर छोड्छ ।
जिप्रकाबाट घर आएपछी सागर टोलाउने, नबोल्ने, टाउकोमा हात राख्ने अँध्यारो अनुहारमा एकै ठाँउमा बसि रहने गर्दै आएका थिए । ‘४ गते साँझ करिव ७ बजेतिर परिवारले खाना खाइसकेपपछि सुत्न कोठामा गएको छोरा सागरले कोठामा भुन्डिएर आत्महत्या गरेछ,’ आमा पानमता विकले भक्कानिदै भनिन्, ‘घरमा त हामीले केही गाली गलौज गरेका थिएनौँ ३ गते प्रहरीले स्कुल ड्रेस मै बजार हुँदै जिप्रका पुरायो, निर्दोष मान्छे लाज भयो मैले जुत्ता चोरेको होइन भन्दै थियो सायद यहि चिन्ताले भोलि छलफलमा फेरि जानू पर्ने लाज र डरले आत्महत्या गरेको हुनुपर्छ ।’
के भन्छ प्रहरी ?
बालकले आत्महत्या गरेपछि अहिले मुगुमा कोहि प्रहरीको दवावले बालक मर्यो भन्छन त कोहि व्यापारीले प्रहरीमा निवेदन दिँदा दवावमा परेर बालक आत्महत्या गर्न बाध्य पार्यो भन्छ्न् । कोहि विद्यालय हाताबाटै स्कुल ड्रेस मै प्रहरीले बालकलाई लिँदा बाल मनोविज्ञानमा नकारात्मक मानसिक प्रभाव पर्न जाँदा बालकले आत्महत्या गरेको बताउने गरेका छन् ।
यो विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सरोज गिरिसँङ्ग आइतवार पत्रकारहरुले बुझ्दा प्रहरीमाथि लागेका आरोप सबै निराधार, कपोकल्पित भएको बताए । उनले मुगुमा पहिला निवेदन आउने कारबाहीको लागि प्रहरी खटिदा बाटो मै दुबै पक्ष मिल्ने चलन रहेकोले आफुहरुले कारबाहीका लागि ठाडो निवेदन दिन आएका व्यापारी र आरोपित बालकका परिवारलाई सँङ्गै बस्न लगाएर मिल्न लगाएको नमिलेपछि ५ गते पुन प्रहरीमा आउने गरी बालकहरुलाई आमाको जिम्मामा पठाइएको बताए । ‘जुत्ता लगाएको बालकले सागरसँङ्ग ज्याकेटमा साटेको बताएपछि सोधपुछका लागि सागरलाई प्रहरीले बोलाएको थियो तर मानशिक र शारिरिक कुनै दवाव दिएको छैन’ प्रनाउ गिरि भन्छन्, ‘आमाले बुझिलिएपछि बालक माथी घरपरिवारको दवाव र टर्चर अलि बढी नै पो भयो कि ?’ उल्टै प्रश्न गरे ।
घटनाक्रम हेर्दा व्यापारीले निवेदन दिँदा प्रहरीको दवाव बालकमाथि बढेपछि बालकले आत्महत्या गरेको सरासर देखिन्छ पोष्ट मार्टम रिपोर्ट र प्रहरी अनुसन्धान हेर्छौ रिपोट के आउँछ त्यसैको आधारमा किटानी जाहेरीसहित कानुनी उपचारमा आफुहरु जाने मृतक सागर विकका आफन्त प्रेम विश्वकर्मा बताउँछन् ।
के भन्छन् व्यापारी ?
गमगढी बजार स्थित मिलनचोकमा फेन्सी कपडाको व्यापार गर्दै आएका एक व्यापारीले प्रहरीमा निवेदन दिँदा बालक माथी दवाव पर्न गई बालकले आत्महत्या गर्न बाध्य पारिएको आरोप आफन्त तथा केही युवाहरुले लगाइ रहेका छन् ।
यो बारे व्यापारीसँङ्ग बुझ्दा आफ्नो ३१ हजार बराबरको माल सामान पसलबाट एक साता अघि चोरी भएपछि आफूले प्रहरीमा निवेदन दिएको र पुस २ गते एक जना बालक चोरी भएको जुत्ता लगाएर बजारमा डुलिरहेको अवस्थामा देखेपछि बालकसँङ्ग सोधपुछपछि आवश्यक छलफल र चोरी भएका अन्य सामानबारे अनुसन्धान गर्न प्रहरीलाई निवेदन साथ गुहारेको बताउँछन् ।
सागर विकलाई आफुले नचिनेको र जुत्ता लगाउने बालकले आफ्नो ज्याकेट सागरलाई दिएको सागरले आफुलाइ जुत्ता दिएको बताएपछि प्रहरीले सोधपुछ गर्न ३ गते सागरलाई बोलाई आफू सहित दुबै पक्षलाई छलफल गराएको थियो । सागरले जुत्ता आफ्ना दाजुको भएको बताएपछि हाल भारतमा रहेका उनका दाजुसङ्ग आमा पानमता विकले फोन गरेर सोधेकि थिइन् ।
घरको जुत्ता आफ्नो नभएको र जुत्ता बारे आफू अनभिज्ञ भएको बताएपछि सागरले आफुलाई रिस डाहा मान्ने कसैले जुत्ता आफ्नो घर भित्र टेबुलमा राखेको हुनसक्ने आशंका गरेको बताएका थिए मृतक सागरलाइ उद्गित गर्दै ती व्यापारिले बताए ।
उनी भन्छन्, ‘पसलको सामान चोरी भयो चोरी भएको सामान लगाएर कोहि बजारमा घुमिरहेको देखेपछि मैले प्रहरीमा निवेदन दिनु गैर कानुनी काम गरेर । प्रहरीलाई निवेदन नदिइ कहाँ दिनु पर्ने हो ? मैले कोहि कसैलाइ धम्की दवाव दिएको छैन मात्र कानुनी न्याय र छलफल गराइ पाउँ भनी प्रहरीमा निवेदन दिएको हुँ । उसो भए अब कोहि व्यापारी वा सर्वसाधरणको घर पसल चोरी भए प्रहरीमा जानकारी वा निवेदन नदिने हो त ?’