पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी सहर घोषणा गर्नु ऐतिहासिक कुरा भएको बताएका छन् ।
सञ्चार प्रतिष्ठान सुनौलो नेपालद्वारा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा जारी प्यानल डिस्कसन कार्यक्रम अन्तर्गत ‘गण्डकी र राष्ट्रिय पर्यटन’ शीर्षकमा बोल्दै मेयर आचार्यले आफू निर्वाचित भएपछि पहिलोे निर्णय नै पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने भनेर गरेको स्मरण गरे । सो कार्यलाई टुंगोमा पुर्याउन अठार महिना लागेको बताउँदै यसबाट हाम्रो सरकारी संयन्त्र कहाँनेर छ भन्ने स्पष्ट हुने जिकिर गरे ।
पोखरा नेचर, कल्चर र एडभान्चरको सहर भएको र पोखराले महानगर भित्रको पोखरा मात्र नभई गण्डकी प्रदेशका सबै ठाउँलाई प्रतिनिधित्व गर्ने मेयर आचार्यले बताए । उनले भने, ‘पोखरा भनेको आएर गएर फर्किने ठाउँदेखि लिएर गण्डकी प्रदेशका सबै ठाउँ पोखरा हो । हामीले अमेरिका, भारतमा गएर घर कहाँ हो भन्दा खेरि पोखरा भनेर जति भन्छौँ, त्यो सबै पोखरा हो । गण्डकी प्रदेश पर्यटनको राजधानी हो र हाम्रो अर्थतन्त्रको मुख्य कुरा यही हुनुपर्छ । ’
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र विशेष अतिथिमा पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे रहेका छन् ।
कार्यक्रमको मुख्य प्रायोजक ग्लोबल आइएमई बैंक र रारा चाउचाउ रहेका छन् । स्फटी हाइजिन, आइएसएमटी कलेज, ओम मेगाश्री फर्मास्युटिकल्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सहयोगी रहेका छन् । कार्यक्रम सहयोगीमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरापालिका र नेपाल पर्यटन बोर्ड रहेका छन् ।
रेष्टुरेन्ट पाटर्नरमा अलेब कबाब, एयरलाइन्स पाटर्नरमा यती र बुद्ध एयर, ट्राभल पाटर्नर एमडी एड्भेन्चर ट्राभल एण्ड टुरिजम, एजुकेसन पाटर्नर काठमाडौँ मेडिकल कलेज र ग्राफिक्स पाटर्नर क्रियटिभ आईडियाज रहेका छन् ।
कार्यक्रम सुनौलो नेपालको आधिकारिक युट्युब च्यानल सुनौलो नेपाल टिभी, न्युज २४ टेलिभिजन र पब्लिक फोरके टेलिभिजनबाट एकसाथ प्रत्यक्ष प्रसारण भइरहेको छ ।