काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले पोखरा विमानस्थललाई लिएर निर्माण चरणदेखि अहिलेसम्म भ्रम मात्रै छरिएको बताएका छन् ।
पोखरावासीको आन्दोलनदेखि निर्माण महंगो भयो भन्ने सम्मका भ्रमले नै आहिलेसम्म विमानस्थलप्रतिको भ्रम नहटेको बताउँदै झन् नकारात्मक टिका टिप्पणी बढेको बताए ।
सुनौलो नेपालले पोखरामा आयोजना गरेको ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ कार्यक्रमको समापन सत्रमा बोल्दै उनले राष्ट्रिय गौरवको आयोजना मध्य निर्धारित समयमा सम्पन्न हुने आयोजना पोखरा विमानस्थल मात्रै भएको बताउँदै भने- ‘२०१२ मा सुरु भएको टेन्डर प्रक्रियाको काम सुरु हुदाँ २०१७ भयो । यदि कोभिड नभएको भए यो आयोजना निर्धारित समय भन्दा एक वर्ष अघि नै सम्पन्न हुने थियो । राष्ट्रिय गौरवको आयोजन मध्ये निर्धारित समायाम सम्पन्न हुने आयोजना पोखरा विमानस्थल मात्रै हो । त्यसपछिको भैरहावा हो अरु अझै पनि चालु अवस्थामा छ । यसैबाट प्रष्ट हुन्छ नेपालको विकासको अवस्था कस्तो छ ।’
उनले पोखरा विमानस्थलले सम्भावनाको अनगिन्ती ढोका खोलिदिएको बताए । उनले भने- ‘हिजो घाम अस्ताएपछि बन्द हुने पोखरा आज खुलेको छ । रातभर जागेको छ । त्यो सम्भावनाको ढोका खुल्यो । यसले होटल व्यवसायसँगै अन्य आर्थिक क्रियाकलापहरु बढेको छ ।’
उनले उड्डयन प्राधिकारण ४ सय देखि १४ अर्ब कमाउने विमानस्थल बोकेर बसेको बताए । उनले भने- ‘दुर्गमको विमानस्थल कुनै पनि नाफामा छैन । काम गर्ने कर्मचारीलाई तलब दिन सक्ने अवस्था छैन । तर त्यो विमानस्थल बन्द भयो भने त्यहा सम्बन्ध विच्छेद हुन्छ, जनताले खोप पाउँदैनन् विद्यार्थीले किताब पाउँदैन्नन् । विरामीले औषधि पाउँदैनन् ।’ उनले उड्डयन क्षेत्रमा नयाँ-नयाँ प्रविधि भित्रिएको बताउँदै हिजो ४ बजे बन्द हुने विमानस्थलहरु अहिले रातभर चल्ने अवस्थामा पुगेको बताए ।
उनले पोखरा र भैरहवा विमानस्थलको आवश्यकता बारे प्रकाश पार्दै भने- ‘हाम्रो देशमा वार्षिक १० प्रतिशतले हावाई यात्रुको संख्या बढेको छ । यो भनेको वार्षिक ७ देखि ८ लाखको संख्यामा हवाई यात्रु बढेको हो । बढ्दो यात्रु संख्यालाई त्रिभुवन विमानस्थलले मात्र थेग्न सक्ने अवस्था छैन अनि कहाँ उडान अवतरण हुन्छ त ? यदि पोखरा र भैरहवा नभएको भए देश ल्यान्ड लकबाट एयर लकमा जाने अवस्था नआउला भन्न सकिन्न थियो । त्यसैले पोखरा विमानस्थलप्रतिको भ्रम सबैले त्याग्नुपर्छ ।’