logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • ऋण तिर्न ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै सिटी होटल, सेयरधनीबाट १ अर्ब ३३ करोड उठाउने

    ऋण तिर्न ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै सिटी होटल, सेयरधनीबाट १ अर्ब ३३ करोड उठाउने

    1K
    Shares
    ऋण तिर्न ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै सिटी होटल, सेयरधनीबाट १ अर्ब ३३ करोड उठाउने

    काठमाडौं । व्यवसायिक घरना गोल्यान ग्रुपले सञ्चालन गरिरहेको पाँचतारे सिटी होटलले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । होटलले हाल कायम रहेको चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

    होटलको पुस २६ गते बसेको साधारणसभाले ८० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीको जारी पुँजीको वृद्धि र प्रवन्धपत्रका दफा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको सिटी होटलले जनाएको छ ।

    साधारणसभाबाट पारित भएकाले अब होटलको हकप्रद सेयर निष्कासनको बाटो खुला भएको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएपछि हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढ्ने भएको छ ।

    होटलको चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ । होटलले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ हकप्रद सेयरबाट जुटाउने लक्ष्य लिएको छ । हकप्रद सेयर निष्कासनपछि होटलको चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्ने भएको छ ।

    हकप्रद सेयरबाट संकलन हुने रकम ऋण तिर्न खर्च गर्ने जानकारी होटलले दिएको छ । होटल बनाउँदा लिएको दीर्घकालिन ऋण ३ अर्ब २५ करोड ८० लाख रुपैयाँ रहेको छ ।

    चालु आर्थिक वर्ष पहिलो त्रैमाससम्म सिटी होटल घाटामा छ । होटल ५ करोड ६२ लाख ७७ हजार रुपैयाँ नोक्सानमा रहेको सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ । होटल लगातार नोक्सानमा चल्दै आएको छ ।

    चालू आर्थिक वर्षको पहिलो त्रैमाशमा होटलले १३ करोड १३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षमा होटलले ५८ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो । पहिलो त्रैमाशसम्म आइपुग्दा होटलको प्रतिसेयर आम्दानी ३.३६ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९०.४९ रुपैयाँ छ ।

    हायात प्लेस अपग्रेड भएर सेन्ट्रिक ब्राण्ड

    पाँचतारे होटल हायात प्लेस अपग्रेड भएर सेन्ट्रिक बनेको छ । यसका लागि २५ करोड रुपैयाँ बढी लगानी थप भएको छ । सेन्ट्रिक अमेरिकी होटल चेन हायातको लक्जरी ब्राण्ड हो ।

    विश्वभरि ५९ होटल हायात सेन्ट्रिक नाममा सञ्चालनमा छन् । नेपालमा सञ्चालनमा आएसँगै संख्या यो संख्या ६० पुगेको छ । लबी र स्विमिङ पुल एरियाको आर्किटेक्ट डिजाइन परिवर्तन गरिएको होटलले जनाएको । लबीको एरिया बढेको छ भने स्विमिङ पुल नजिकै रहेको स्काइ बारको आर्किटेक्टमा परिवर्तन आएको छ ।

    साढे १० रोपनी क्षेत्रफलमा डेढ वर्षअघि सञ्चालनमा आएको होटल साढे ४ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको थियो । १४ तलाको होटलमा १५३ कोठा छन् । सिटी होटलको स्थापना २००७ मा भएको हो । सिटी होटल २०७८ कात्तिक २७ गतेदेखि होटल ह्यात पेलेस ब्राण्डमा सञ्चालन भएको थियो ।

    ४ अर्ब लगानीमा लुम्बिनीमा पाँचतारे होटल

    राजधानीको सोल्टिमोडमा पाँचतारे स्तरको सिटी होटल सञ्चालनमा ल्याएको ग्रुपले ४ अर्ब रुपैयाँ लगानीमा बुद्धको जन्मस्थल लुम्बिनीमा होटल वेद सञ्चालनमा ल्याउने भएको हो । होटल पूर्वाधार लुम्बिनीको मायादेवी गाँउपालिकामा बन्ने भएको छ ।

    होटलमा २ अर्ब ८० करोड रुपैयाँ बैंकको ऋण र बाँकी १ अर्ब २० करोड ६० लाख रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ । कूल स्वपुँजीको ३० प्रतिशत अर्थात ३६ करोड २० लाख रुपैयाँ लगानी भइसकेको छ । ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत स्वपुँजीबाट जुटाउने गरि लगानी संरचना तयार पारिएको छ ।

    होटल सन् २०२८ को जनवरीदेखि व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी भएको वेद हस्पिटालिटीले जनाएको छ । होटलको व्यवस्थापन ह्यात इन्टरनेसनले साउथ वेस्ट एसिया लिमिटेड (एचएमए) ले हेर्ने भएको छ ।

    यो पनि :

    लुम्बिनीमा पाँचतारे होटल निर्माण थाल्दै गोल्यान ग्रुप, ४ अर्बमा उच्चस्तरको ‘वेडिङ डेस्टिनेसन’ बनाउने


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend