logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    माथिल्लो कर्णालीमा नेपाल इन्भेस्टमेन्टको अगुवाइमा पाँच बैंकको ४२ अर्ब ऋण लगानी

    माथिल्लो कर्णालीमा नेपाल इन्भेस्टमेन्टको अगुवाइमा पाँच बैंकको ४२ अर्ब ऋण लगानी

    1.6K
    Shares
    माथिल्लो कर्णालीमा नेपाल इन्भेस्टमेन्टको अगुवाइमा पाँच बैंकको ४२ अर्ब ऋण लगानी

    काठमाडौं । प्रस्तावित ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना बनाउन पाँच नेपाली बैंकहरुले लगानी गर्ने भएका छन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) को अगुवाइमा ४२ अर्ब रुपैयाँ कर्जा लगानी गर्ने सम्झौता गरेका छन् ।

    आयोजनको प्रवद्र्धक जिएमआर इनर्जी लिमिटेडले एनआइएमबीको अगुवाइमा एभरेष्ट बैंक, सनराज लक्ष्मी बैंक र एनएमबी बैंक रहेका छन् । एनआइएमबीबाट ४२ अर्ब रुपैयाँ लगानी हुदाँ र भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी लिमिटेड (इरेडा) बाट ६५ अर्ब भारु (१ खर्ब ४ अर्ब रुपैयाँ) प्राप्त हुने जिएमआरले जनाएको छ ।

    माथिल्लो कर्णाली आयोजना बनाउन कूल १ खर्ब ४६ अर्ब ३२ करोड रुपैयाँ लाग्ने जिएमआरले लगानी बोर्डलाई जानकारी गराएको छ । जसमध्ये जिएमआर इनर्जी, एसजेविएन लिमिटेड र भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी लिमिटेड (इरेडा) ले ३० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने भएका छन् भने बाँकी ७० प्रतिशत कर्जा लगानी हुने गरि लगानी संरचना बनाएको जानकारी दिएको छ ।

    स्वीकृत कर्जा र सीमाअनुसार एनआइएमबीले ३० करोड रुपैयाँ विकासकर्ता जिएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडको खातामा पठाएको बैंकको पत्र पेश गरेको छ ।

    यसैगरि इरेडाले गर्ने भनेको ४५ अर्ब भारु लगानी स्वीकृतिका लागि टर्म एन्ड कन्डिसनसहितको आशयपत्र पेश गरेको जिएमआरले जनाएको छ । जिएमआरले पावर फाइनान्स कर्पोरेशन इन्डिया लिमिटेडबाट पनि ६५ अर्ब भारु कर्जा लगानीको आशयपत्र पेश भएको जनाएको छ । इरेडाबाट नभए पावर फाइनान्सबाट पनि लगानी जुट्ने जानकारी जिएमआरले दिएको छ ।

    आयोजनाबाट व्यवसायिक उत्पादन हुने मितिसम्मका कार्यायोजना बोर्डमा पेश भएको छ । नयाँ लगानी संरचनाअनुसार जिएमआर इनर्जीका अतिरित्त जिएमआर पावर एन्ड अर्बान इन्फ्रा लिमिटेड, जिएमआर जिएमआर लायन इनर्जी लिमिटेड, एसजेभिएन लिमिटेड, नेपाल विद्युत प्राधिकरण र जिएमआर अपर कर्णाली हाइड्रोपावरसँग संयुक्त लगानी (जेभी) सम्झौता पेश भएको छ ।

    जिएमआरको माथिल्लो कर्णाली आयोजनाको अनुमति अवधिम यही माघ ४ गतेसम्म थियो । जिएमआरले माघ २ गते नै वित्तीय व्यवस्थापन गरेको जानकारी दिएको थियो । लगानी बोर्डको आगामी सञ्चालक समिति बैठकमा जिएमआरको लगानी प्रस्ताव पेश हुने भएको छ ।

    लगानी बोर्डको ६०औं वैठकले भारतको जिएमआर इनर्जीले पेश गरेको नयाँ सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव गत मंसिरको पहिलो साता स्वीकृत गरेको हो ।

    जसअनुसार जिएमआर र एसजेभिएनको बराबर अर्थात ३४/३४, विद्युत प्राधिकरणको २७ र इरेडाको ५ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना बनाएको छ ।

    जिएमआर इनर्जीको स्वामित्वमा रहेको माथिल्लो कर्णालीको म्याद नथप्न सर्वोच्च अदालतले आदेश दिइसकेको छ ।
    सरकारले २०७९ असार ३१ मा आयोजनाको वित्तीय व्यवस्थापनका लागि २ वर्ष म्याद थपेको थियो । बोर्डको म्याद थपको निर्णयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

    सर्वोच्च अदालतले ०७९ कात्तिक १७ मा उक्त रिटमाथि सुनुवाइ गर्दै म्याद थप कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि दायर भएको रिटमा २०८० वैशाख २४ मा सर्वोच्चको संवैधानिक इजलासले फेरि म्याद नथप्न मन्त्रिपरिषद्लाई निर्देशनात्मक आदेश दिएको थियो । गत साउन २७ गते बोर्डले पत्र पठाएर जानकारी दिएको थियो ।

    २०८० साउन १० गतेको मन्त्रिपरिषद बैठकले माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापनका लागि सर्वोच्च अदालतमा मुद्दा परेपछि जारी अन्तरिम आदेशका कारण गुमेको ६ महिना मात्रै दिएको छ ।

    भदौको तेस्रो साता जिएमआरले भारतको नयाँ दिल्लीमा सतलज जलविद्युत निगम लिमिटेड र इरेडालाई साझेदार बनाएको हो । आयोजना बनाउन लगानी जुटाउन नसकेपछि जिएमआरले साझेदार खोजेको हो ।

    १२ प्रतिशत निःशुल्क ऊर्जा र २७ प्रतिशत निःशुल्क सेयर दिने प्रस्ताव गरेपछि जिएमआरले माथिल्लो कर्णाली आयोजना पाएको हो । जिएमआरले नेपाललाई १ सय ८ मेगावाट बिजुली निःशुल्क दिनुपर्ने पिडिएमा उल्लेख छ ।

    माथिल्लो कर्णाली आयोजना बनाउन जिएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेड स्थापना भइसकेको छ । सन् २००८ मा प्रतिस्पर्धाबाट जिएमआरले माथिल्लो कर्णाली आयोजना पाएको हो ।

    पहिला ३ सय ९ मेगावाटको भए पनि पछि जिएमआरले क्षमता बढाएर ९ सय मेगावाट बनाएको हो । प्रतिस्पर्धाका क्रममा जिएमआरले निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना बनाउन प्रस्ताव गरेको थियो ।

    सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका बेला जिएमआर र लगानी बोर्ड नेपालबीच पिडिएमा हस्ताक्षर भएको थियो । सोही बेला अरुण तेस्रो बनाउने विषयमा सतलज र बोर्डबीच सोही समयमा पिडिए भएको थियो ।

    आयोजना पाएको १६ वर्ष बितिसक्दा पनि जिएमआरले लगानी जुटाउन सकेको थिएन । लगानी बोर्डले पटक पटक उसको म्याद थप्दै आएको थियो । अर्को साझेदार एसजेभिएनले ९ सय मेगावाटको अरुण तेस्रोको काम ७० प्रतिशत सकेको छ । यस्तै उसले ६ सय ६९ मेगावाटको तल्लो अरुण आयोजना पनि बनाउन लाइसेन्स पाइसकेको छ ।

    विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको छ । यस्तै विद्युत प्राधिकरणको साझेदारीमा ४ सय ९० मेगावाटको अरुण फोर आयोजना बनाउने तयारी गरेको छ ।

    सरकार र जिएमआरबीच ०६५ सालमा आयोजना निर्माणका लागि एमओयू भएको थियो । ०६८ मा लगानी बोर्डको स्थापना भएपछि लगानी बोर्ड ऐन, ०६८ को प्रावधानअनुसार माथिल्लो कर्णालीलाई बोर्डको मातहत राखिएको हो ।

    २०७१ असोजमा लगानी बोर्ड र जीएमआरबीच पिडिए भएको थियो । त्यसबेला जिएमआरले दुई वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको थियो । लगानी जुटाउन नसक्दा सरकारले पटकपटक म्याद थप गर्दै आएको छ । पिडिएअनुसार लगानी जुटाउन नसकेपछि २०७३ पुसमा १ वर्ष म्याद थपिएको थियो ।

    थपिएको १ वर्षमा पनि वित्तीय स्रोत जुटाउन नसकेपछि ०७४ कात्तिकमा बोर्डले पुनः १ वर्ष म्याद थपेको थियो । बोर्डले पछिल्लो पटक थपेको २ वर्षमा पनि जीएमआरले वित्तीय स्रोत जुटाउन नसकेपछि २०७९ असार ३१ मा सरकारले थप २ वर्ष म्याद थप गर्ने निर्णय गरेको थियो ।

    यस्तै लगानी जुटाउन नसकेको र म्याद थप्न जिएमआरले पत्राचार गरेपछि बोर्डले दुई पटकसम्म म्याद थप गरेको थियो । ०७५ असोजपछि म्याद थपको विषयमा सरकारले निर्णय गर्न सकेन । २०७८ असोजमा बोर्डले गठन गरेको कार्यदलले म्याद थप्न सुझाव दिएको थियो । २०७९ असारमा मन्त्रिपरिषदले स्रोत जुटाउनका लागि २ वर्ष म्याद थपेको थियो ।

    यस्तो छ आयोजना

    कर्णाली प्रदेशको अछाम, दैलेख र सुर्खेत भएर बग्ने कर्णाली नदीमा आयोजना रहेको छ ।

    अर्धजलासय पिआरओआर आयोजनाबाट वार्षिक ३ अर्ब ४६ करोड ६० लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली ४ सय केभी क्षमताको १ सय किलोमिटर लामो प्रसारण लाइन बनाएर भारतको उत्तरप्रदेशस्थित बरेलीमा जोड्ने योजना रहेको छ । आफै निर्माण, सञ्चालन र हस्तान्तर (बूट) नीतिअनुसार आयोजनाको जिम्मा जिएमआरलाई दिइएको हो ।

    आयोजनाको सुरुङको लम्बाइ ३ किलोमिटर मात्र भएको र बढी ऊर्जा उत्पादन हुने भएकाले आयोजना आर्थिक रुपमा आकर्षक देखिएको छ ।

    आयोजनाबाट उत्पादन हुने मध्ये ५ सय मेगावाट बिजुली बंगलादेशलाई बेच्न जिएमआरले बंगलादेश पावर डेभलपमेन्ट बोर्डसँग एमओयू गरेको छ । आयोजना बनाउन स्रोत सुनिश्चित नहुँदा सम्झौता हुन सकेको छैन् ।

    यो पनि :

    माथिल्लो कर्णाली जलविद्युत आयोजनाको म्याद दुई सातामात्र, जिएमआरले जुटाउला लगानी ?

    सतलज र इरेडाको प्रवेशले १६ वर्षदेखि जिएमआरले बन्धक बनाएको माथिल्लो कर्णाली आयोजना बन्ला ?

    माथिल्लो कर्णाली आयोजना : जिएमआरको नयाँ सेयर संरचना स्वीकृत, लगानी नजुटाए लाइसेन्स खोसिने

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend