काठमाडौं । नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको फागुन २३ को फैसलामाथि छिट्टै पुनरावलोकनका लागि जाने भएको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘हुन त यसअघि नै निर्णय भइसकेको हो । तैपनि छिट्टै सर्वोच्च अदालतमा अदालतको आदेशका सम्बन्धमा पुनरावलोकन गर्नेछौं ।’
गत फागुन २३ मा सर्वोच्च अदालतले ‘नेकपा’ नाममा परेको मुद्दाको अन्तिम फैसला गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा भएको एकता भंग गरिदिएको थियो ।
माओवादी केन्द्र र नेकपा एमालेका माधव नेपाल तथा झलनाथ खनाल पक्षले अदालतको सो निर्णयप्रति असहमति जनाएका थिए ।