काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग सोमबार भएको अनौपचारिक छलफलले ठोस निश्कर्ष निकाल्न नसकेपछि नेपाल–खनाल पक्षले आफ्नै तरिकाले अगाडि बढ्ने निर्णय गरेको छ ।
सोमबार धुम्बाराहीमा भएको छलफलमा नेपाल–खनाल पक्षले सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ओलीले गरेका सबै निर्णय आफूहरुलाई अमान्य रहेको भन्दै ओली उक्त निर्णयबाट पछि हट्नुपर्ने माग गरेको थियो । तर ओलीले विशेषगरि फागुन २८ मा गरेको निर्णयबाट पछि नहट्ने अडान लिएका थिए ।
धुम्बाराहीबाट फर्किएपछि खनाल र नेपाल समूहले बानेश्वरमा केन्द्रीय सदस्य तथा सांसदहरुको भेला राखेको थियो । सो बैठकले केपी ओलीले एकलौटी रुपमा गरेको निर्णयबाट पछि नहट्ने अडान लिएपछि आफूहरुले बोलाएको चैत ४ र ५ गतेको राष्ट्रिय भेला नरोक्ने र यस्तै अवस्थामा चैत ७ मा बोलाइएको केन्द्रीय समिति बैठकमा पनि सहभागी नहुने निर्णय गरेको बैठकमा सहभागि एक नेताले बताए ।
यसका साथै सो पक्षले ओलीले मंगलबार बालुवाटारमा बोलाएको चियापानमा पनि नजाने निर्णय गरेको छ ।