काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई सम्झाउन बोलाएको तर उनीहरुले गल्ती समेत महशुस नगरेको बताएका छन् । उनीहरु वितण्डा गरेर हिँड्ने तर मसिनो स्वरमा आफू बोलिदिनु पर्ने भन्दै वार्ता नमिलेको बताएका छन् ।
अन्नपूर्ण पोष्ट दैनिकसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यत्रा अपराध गरेर फेरि पनि ठूला कुरा गर्दै हुनुहुन्छ। मैले पो गल्ती महसुुस गरिदिनुपर्ने। उहाँहरूका पगरी लगेर फेरि टाउका–टाउकामा राखिदिनुपर्ने। यथोचित मानसम्मान दिनुपर्ने। मैले मसिनो स्वरमा बोल्नुपर्ने। उहाँहरूले चर्का स्वरमा बोल्न पाउनुपर्ने। हिजो बहुमतको धाक लगाउनुभयो, अहिले बहुमतले निर्णय गर्न नपाउने रे ।’ नेपालसँग सोमबार भएको भेटबारे बोल्दै अध्यक्ष अोलीले अनमेल, बेमेल मात्र होइन, शत्रुतापूर्ण सम्बन्ध नेपाल पक्षले विकास गरेको आरोप लगाए ।
अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सोमबार पार्टी कार्यलय धुम्बाराहीमा भेटवार्ता भएको थियो । छलफलमा ओली पक्षबाट नेताहरु ईश्वर पोखेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ थिए । नेपालको तर्फबाट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी थिए ।
दुवै पक्षले आ–आफ्ना अडान नछोडेपछि वार्ता निष्कर्षमा पुग्न भने सकेन ।