काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा पुराना कम्युनिष्ट नेता राधाकृष्ण मैनाली पनि उपस्थित भएका छन् ।
शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्रको सरकारमा सहभागी भएपछि एमालेको कारवाही भोगेका उनी अहिले खनाल–नेपाल समूहमा खुलेका छन् । कार्यकर्ता भेलामा उनलाई मञ्चमै आसन ग्रहण गराइएको छ ।
२०२५ सालमै विद्यार्थी राजनीतिमा उत्रेका मैनाली २०२८ सालको झापा बिद्रोहबाट नेपालको राजनीतिक वृत्तमा चिनिएका हुन् । ताप्लेजुङमा जन्मेका मैनालीले तत्कालीन मालेका संस्थापक समेत हुन् । लामो जेल जिवन बिताउने मालेका नेतामध्ये मैनाली पनि एक हुन् ।
कुनै बेला हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समय जेल जीवन ब्यतित गरेका मैनाली पछिल्लो समय भने ओलीका प्रखर आलोचकका रुपमा चिनिँदै आएका छन् ।
२००३ साल असोज १० गते धनपति मैनाली र चन्द्रमाया मैनालीको सन्तानका रुपमा ताप्लेजुङ जिल्लाको फूलबारी गाविस चोकपुर गाउँमा जन्मिएका मैनालीका ४ भाइमध्ये माइला सिपी मैनाली पनि नेपाली बाम राजनीतिमा परिचित छन् ।
मञ्चमा सिद्धिलाल सिंह, माेदनाथ प्रश्रित, कमल काेइराला, माेहनचन्द्र अधिकारीलगायत पुराना कम्युनिष्ट नेताहरुलाई आसन ग्रहण गराइएकाे छ ।