काठमाडौँ- वाग्मती प्रदेशमा नेकपा एकीकृत समाजबादीबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले जम्बो मन्त्रीपरिषद बिस्तार गरेर रेकर्ड बनाएका छन्।
८ वटा मन्त्रालयलाई फुटाएर १४ पुर्याएका पाण्डेले अझै थप गरेर राज्यमन्त्रीसहित १७ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारीमा लागेका छन् ।
मुलुक आर्थिक संकटमा परिरहेका बेला समाजबादीका नेता समेत रहेका मुख्यमन्त्री राजेन्द्र पाण्डे भने त्यसको प्रबाह नगरी जनताबाट उठेको करमा मन्त्रालयको संख्या मात्र थपेर राज्यमाथि थप भार थोपर्न तल्लीन छन् ।
अघिल्लो सरकारले छुट्टाएका विकासे योजना समेत मुख्यमन्त्री बन्नासाथ रद्ध गरेका उनले मन्त्रालय भने धमाधम बिस्तार गरीरहेका छन्।
पाण्डे मुख्यमन्त्री बनेपछि विद्युतीय बस खरिद र हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने योजना स्थगित गरेका थिए। जबकि अघिल्लो सरकारले विद्युतीय बस खरिद गर्न ३० करोड र हेटौंडा–काठमाडौं सुरुङमार्गलाई ५० करोड रुपैयाँ बजेट छुट्याईसकेको थियो ।