बाग्लुङ- नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षको केन्द्रमा रहेको ढोरपाटन विमानस्थल अहिले पुर्ण रुपमा बन्द छ । अहिले विमानस्थलको हाताभित्र घोडा तथा पशुचौपायाहरु निर्वाध रुपमा चरिरहेका छन् । विमानस्थलको वरपर तारवार त लगाईएको छ, तर कुनै गतिबिधी नहुदा तारबारु समेत खिईने अवस्थामा छन् । लामो समयदेखि विमान नदेखेको यस विमानस्थल कहिले विमान आउने हो भनि प्रखाईमा रहेको छ । समुद्र सतहदेखि दुई हजार सात सय २८ मिटर उचाईमा रहेको यस विमानस्थल सन् १९७३ सेप्टेम्बर २४ अर्थात बिक्रम संवत २०३० असोज ८ गतेबाट सुचारु भएको थियो ।
विमानस्थल सुचारु भएसंगै बिक्रम संवत २०१६ सालमा ढोरपाटन छिरेका तिब्बती शरणार्थीहरु ढोरपाटन क्षेत्रमै व्यवस्थापन गरिएपछि दिनहँु जसो विमानहरु अवतरण गर्दथे । तीन सय ६५ मिटर लम्बाई लामो रनवे रहेको यस विमानस्थलमा एक दशक अगाडीसम्म कहिले शिकार आरक्षमा आउने शिकारी त कहिले ढोरपाटन आउने पर्यटकले चार्टर गरेर ल्याउने गर्दथे । अहिले भने विमानस्थलको क्षेत्र घोडा तथा पशुचौपायाको चरण क्षेत्रको रुपमा स्थापित भएको छ । स्थानिय सुरज पौडेल विमानस्थल नजिकै बस्छन्,तर उनले आज सम्म विमानस्थल विमान अवतरण गरेको देखेका छैनन् । ‘एकदिन यति एयरको विमान अवतरण भएको थियो रे भन्ने सुनेको छु ।’
पोडेल भन्छन् ‘पहिले विमान दैनिक जसो आउने जाने गर्दथे रे तर, पछि शान्तिवार्तापछि बिमानस्थल संचालनमा ल्याउनको लागी विमानस्थलको वरपर तारबारले घेरिएको रहेछ । त्यसपछि विमान आएन भन्ने यहाँका बुढापाकाहरु सुनाउनुहुन्छ ।’ ढोरपाटनमा सिकारका लागी जाने सिकारीले लगेको हेलिकप्टर बाहेक विमानस्थलमा अन्य विमान नदेखेको स्थानिय दीपक विकले बताए । ‘उपयुक्त ग्राउन्ड छैन, हवाईजहाजको लागी उड्ने र बस्ने ठाउँ राम्रो नभएकाले यहाँ विमान आउदैनन् ।’विक भन्छन् ‘सिकारी र केहि पर्यटकहरु भने हेलिमार्फत आउछन्, नभए हेलि पनि खासै देखिदैनन् ।’ केहि समय अगाडी राष्ट्रपति बिद्यादेवि भण्डारी हेलिमार्फतनै आएर ढोरपाटनको अवलोकन गरेकी थिईन ।
बेला–बेलामा चर्चामा आईरहेने यस विमानस्थललाई संचालनमा ल्याउनको लागी उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना बाधक बनेको जनप्रतिनिधीको भनाई छ । हालको विमानस्थल क्षेत्रमै उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने कुरा बेलाबेलामा चलिरहन्छ । जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएपछि विमानस्थल संचालनमा ल्याउनको लागी पहल अगाडी बढाउने या नबढाउने जनप्रतिनिधी आफै दोधारमा छन् । आफुहरुलाई विमानस्थल संचालनमा ल्याउने मन हुदा हुदै पनि उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाले दोधार बनाएको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले बताए ।
उनी भन्छन् ‘हामी जनप्रतिनिधीलाई विमानस्थललाई संचालनमा ल्याउन मन छ, तर उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाले दोधार बनाएको छ ।’ मेयर नेपाली भन्छन् ‘उक्त आयोजनाको ठोस निर्णय नभएसम्म संचालनमा ल्याउन समस्या छ । जलाशय निर्माण भयो भने विमानस्थलको सबै भाग डुब्छ लगानी मात्र खेर जान्छ, जलाशयको ठोस निर्णण भयो भने मात्र के गर्ने के नगर्ने निर्णय गर्न सहज हुने थियो ।’ विवादित आयोजनाका कारण पुरानो विमानस्थल संचालनमा आउन नसक्नु दुर्भाग्यको रुपमा हेरिएको छ । उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने हो वा होईन प्रष्ट नभएसम्म संचालनमा ल्याउन नसकिने जनप्रतिनिधी बताउँछन् ।