काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा चरेस निर्यातका लागि कानुनी प्रवन्ध गर्नुपर्ने सुझाव आएको छ ।
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिको रूपमा महाधिवेशनको बन्दसत्रमा सहभागी अम्बादत्त भट्टले नेपालमा चरेस प्रशोधन गरेर निर्यात गर्नुपर्ने लिखित सुझाव पार्टीलाई दिएका हुन् ।
भट्टले नेपाली ब्र्रान्ड उत्पादन र वितरण मुख्य उद्देश्य राखेर उत्पादन व्रिगेडको संरचना केन्द्रदेखि वडासम्म हुनुपर्ने सुझाव दिएका छन् ।
साथै केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा उत्पादन कोष बनाउने र त्यसमा संगठित कार्यकर्ताहरुको अनिवार्य आर्थिक सहभागिता हुनुपर्ने सुझाव उनले दिएका छन् ।
भट्टले ‘उत्पादन व्रिगेड निर्माण र सन्चालन योजना’बारे पेश गरेको सुझावमा, ‘चरेस खेतीको सीमा निर्धारण गरी प्रशोधन केन्द्रबाट प्रशोधन गरी, मदिराजन्य पेय, चरेस तथा अन्य जडिबुटीजन्य वस्तु निर्यात गर्न कानुनी व्यवस्था गर्ने ।’ उल्लेख गरिएको छ ।
लागूऔषधको रुपमा व्याख्या गरी चरेसलाई नेपालमा प्रतिबन्ध लगाइएको छ । चरेसबारे बहस होस् भनेर आफूले लिखित सुझाव दिएको भट्टले बताए ।