काठमाडौं/अनुसा थापा । नेपाल अधिराज्यभरका आम नागरिक आफ्नो व्यक्तिगत काम लिएर मन्त्री वा सरकारी कर्मचारी भेट्नका लागि सिंहदरबार आँउछन् । जनप्रतिनिधिहरु सबै स्थानीयको समस्या बोकेर वा बजेट माग्न सिंहदरबारसम्म धाउछन् । देशका ठूल्ठूला ओहोदाहरु बस्ने एक मात्र ठाँउको सिंहदरबार । यहाँ दैनिक निकै भीडभाड हुन्छ । राजनितिक दलहरुले हामी गाँउगाँउमा सिंहदरबार पुप्याउछौ भनेपनि सो आश्वासनमै सिमित भयो । अहिले पनि सिंहदरबार छिर्नेको संख्यामा कुनै कमी आउन सकेको छैन् । जनमास एकदमै धेरै हुन्छन् ।
तर, सिंहदरबार छिर्नका लागि गाह्रो छ कि कुरै नगरौं । अझ गाँउगाँउबाट आएकालाई धेरै नै सकस छ । कुन मन्त्रालय हो ? कहाँ छ ? सचिव को हो ? मन्त्री को हो ? त्यस बारेपनि ज्ञान नभएको हुन सक्छ । सिंहदरबार छिर्नका लागि सबैभन्दा कठिन काम भनेकोचाहि पास मगाउनु हो । बाहिरबाट फोन गरेर आफ्नो नाम र जिल्ला खुल्ने परिचयपत्र देखाउनुपर्छ ।
नागरिकतामा लेखेअनुसार नाम मिलेन् भने पास पाइदैन् । अझ, भित्र छिर्नलाई पटकपटक फोन गर्दा पनि मन्त्रालयभित्रका कर्मचारीले फोन उठाउदैनन् । बत्ती भएनि नभएको बहाना बनाउछन् । पास बनाउनका लागि नेट छैन् भनेर ढाँट्न पनि उनीहरु पछि हट्दैनन् । मन्त्रालयमै भएका मन्त्री र सचिव पनि नभएको बताउछन् । तर, यसले टाढाटाढाका आमनागरिक र जनप्रतिनिधिलाई कति सकस भएको छ उनीहरुले बुझेका छन् । दुर्गम जिल्लाबाट मँहगो गाडी भाडा तिरेर काठ्माडौं आएका हुन्छन् । आफ्नो समस्या कसैले त सुन्दिएला भनेर आएकाहरु अन्ततः निरास भएर फर्किन बाध्य हुन्छन् । बेकारमा ती सीधासाधी जनताको गाडी भाडा खेर जान्छ । उता, लजमा बसेको खर्च भने छुट्टै छ ।
यता, मन्त्रालयका कर्मचारीहरुले राम्रोसंग नागरिकहरुको कुरा पनि सुन्दैनन् । बोल्दाबोल्दै फोन काटिदिने, झर्किने, रिसाउने गर्दछन् । राम्रोसंग बोलीवचन गर्दैमा तिनीहरुको के जान्छ ? भन्दाभन्दै फोन काट्नु नैतिकता हो ? आफ्नो वा पुरै स्थानीयको समस्या बोकेर आएसंग झर्किनु मानवता हो ? मन्त्रालयका कर्मचारीको काम जनताको गुनासो सुन्नु र उनीहरुलाई सेवासुविधा प्रदान गर्नु हो । त्यतिपनि गर्न नसक्ने कर्मचारीहरुले किन जागिर खाने ? बरु, छोडिदिने । सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयदेखि लिएर थुपै मन्त्रालयहरु छन् । त्यहाँभित्र भएका कर्मचारी सबैले जनताले तिरेको करबाट तलबभत्ता र सेवासुविधा पाएका छन् ।
तर, त्यही जनतालाई हेप्न खोज्नु यिनीहरुलाई नैतिकताले दिन्छ ? मन्त्रालयका कर्मचारीहरु कार्यालय आउछन् दिनभरि सामाजिक सञ्जालमा झुण्डिछन् । जनताले तिरेको करबाट टेलिफोन जडान गरेको छ । दिनभरि आफन्तसंग कुराकानी गरेर बस्यो । राजनितिको गफगाफ गर्ने, क्यान्टिनमा गएर भाषण ठोकेर बस्ने उनीहरुको दैनिकी यही नै हो । एकाध कर्मचारी मात्र आफ्नो कुर्सीमा भेटिएलान् । हाजिर गप्यो घरतिर दौडियो । सरकारी कर्मचारीको काम भने दिन कटानी र माना पचानी मात्र हो । फोन गप्यो भने उनीहरुको फोन पनि उठ्दैन् ।
तोकिएको समयमा मन्त्रालय नआउने र आएपनि आफ्नो कुर्सीमा नबस्ने जस्ता गुणवान कर्मचारी सिंहदरबारले पाएको छ । कुर्सीचाहि भित्र कर्मचारीचाहि बाहिर । सधैं सर्वसाधारणलाई सास्ती दिने काम मात्र भइरहेको छ । सिंहदरबारमा मात्र नभई मुलुकका हरेक सरकारी कार्यालयमा कामचोर प्रवृत्तिका कर्मचारीहरु छन् । आज तलबभत्ता र भोलि पेन्सन यिनीहरुले जनताले तिरेकै करबाट खाने हो । तर, त्यही जनताको काम गर्न यी कामचोर कर्मचारी किन हिचकिचाउछन् ? आफ्नो काम लिएर कार्यालय पुगेका सर्वसाधारणहरुले सरकारी कर्मचारीका कारणले दुःख मात्र पाउछन् ।
२०६२–६३ सालमा राजतन्त्रको विरोध गर्दै नेपालीहरु सडकमा उत्रिए । नेपालीले गरेको आन्दोलनले राजतन्त्र हट्यो, लोकतन्त्र आयो । लोकतन्त्र आएपनि यी सरकारी कर्मचारीको व्यवहारमा कुनै परिवर्तन आएन् । लोकतन्त्रपछि सिंहदरबार छिर्न सहज हुन्छ र कामचोर कर्मचारीको काम गर्ने शैलीमा परिवर्तन आउछ भनेर हरेक नेपालीको आशा थियो । जुन अहिले आएर निराशामा बद्लियो । देशको व्यवस्था फेरियो तर सिंहदरबार छिर्नका लागि बस्नुपर्ने लाइन र कर्मचारीको रुखो व्यवहार फेरिएन् । जनताहरुको आँटले राजनिति परिवर्तन भयो तर कर्मचारीको भ्रष्ट्राचार गर्ने आनीबानीमा केही फरक परेन् ।
अहिले घुसबिना केही काम नै हुदैन् । घुस दियो भने छिनमै काम हुन्छ । दिन सकेन् भने महिनौ पनि बित्छ । मन्त्री र सचिवको आफन्तलाई महिनावारी पास बनाइदिएको पाइन्छ । उनीहरु महिनाभर सिंहदरबार छिर्न पाउछन् । तर, सर्वसाधारणको हकमा त्यस्तो छैन् । पाँच मिनेट सिंहदरबार छिर्न पनि युद्ध लडेझै अनुभव सर्वसाधारणलाई हुन्छ । जनता सडकमा नउत्रिएको भए आज राजतन्त्र कायमै हुन्थ्यो होला । नेपालीहरु शहिद नभइदिएको राजनितिक परिवर्तन हुदैनथ्यो । जनताकै बलमा आज यिनीहरु सत्तामा पुगे । जनताले मत दिए मन्त्री, प्रधानमन्त्री बनाए ।
आफु भोको पेट बसेर यिनीहरुको पेट पालेका छन् । जनताले कर नतिर्ने हो भने मन्त्री, प्रधानमन्त्री भन्नेहरुले खान पनि पाउदैनन् । हरेक मुलुकमा सबैभन्दा माथि जनता हुन्छन् । जनताले चाहेभने पुरै मुलुक नै उथुलपुथुल बनाइदिन सक्छन् । हिजो राजतन्त्र हटाउनेदेखि लिएर शहिद बनिदिने हामी । यिनीहरुलाई राजनिति क्षेत्रमा ल्याउने पनि हामी । तर, आज यिनीहरुलाई भेट्नकै लागि यत्रो सास्ती । गाँउगाँउमा सिंहदरबार पुग्छ भन्नेहरु कता हराए ? एउटै भएको सिंहदरबारमा त जनताले सुविधा पाउन सकेका छैनन् । सिंहदरबार सबै जनताको हो ।
जोकोही नेपाली पनि सिंहदरबार छिर्न पाउनुपर्छ । अरुलाई बाहिर घण्टौं उभाएर यसरी हैरानी दिन पाइदैन् । मन्त्रालयका हरेक कर्मचारीहरुले आफुलाई सबैभन्दा ठुलो ठान्छन् । घमण्डको त कुरै नगरौं । सिंहदरबारको गेट हरेक नेपालीको लागि जतिबेला पनि खुला गर्नुपर्छ । जनतामाथि शोषण गर्ने र शासन चलाउने काम नगरौं । अब फेरिपनि जनता सडकमा उत्रिए भने सिंहदरबारको जरा उखालेर फ्याक्दिन्छन् । सबैलाई आफ्नो समस्या र गुनासो राख्ने हकअधिकार छ । सिंहदरबारभित्र छिर्न दैनिक ठुलो जनमास हुन्छ । पास लिनका लागि घण्टौं उभिन पर्ने हुन्छ । तर, त्यहाँ एउटा बस्ने ठाँउको व्यवस्था पनि गरिएको छैन् ।
भर्खरका त जसोतसो उभिएलान् तर बुढाबुढीलाई कति गाह्रो होला कसैले निर्क्यौल गरेको छ ? मन्त्री, सचिव र प्रधानमन्त्रीको आँखामा जनताको दुखाइ नपरेकै हो ? हिजो राजाले जनताको भावना नबुझ्दा र जनतामाथि शासन चलाउन खोज्दा राजतन्त्रको जरा उखालियो । अब पालो मन्त्री, प्रधानमन्त्री र सरकारी कर्मचारीको हो । अब पनि राजनितिक दल र कर्मचारी नसुध्रिने हो भने राजनितिक दल र सरकारी कर्मचारी पुरै परिवर्तन हुन बेर लाग्दैन् । जनताभन्दा ठुलो कोही छैन् भनेर कसैले पनि बिर्सिने काम नगरौं । किन कि जबजब जनतामाथि शासन चलाउन र अत्याचार गर्न खोजिन्छ तबतब ठूलो क्षति हुन्छ । नेपाल सरकारले सात प्रदेश बनाएको छ । सात प्रदेश घोषणा गरेपनि सिंहदरबार आउनेको चाप घटेन् किन कि प्रदेश सरकारले केही काम नै गरेन् ।
प्रदेशको मुख्यमन्त्रीदेखि लिएर कर्मचारी जिम्मेवार भएको भए सिंहदरबार छिर्न होडबाजी चल्दैनथ्यो । प्रदेश सरकारले गरेको कामः तलबभत्ता खाने, सरकारी गाडी चढ्ने र भ्रष्ट्राचार गर्ने । जनताको काम गर्न भने चासो देखाइएन् । प्रदेश सरकारले छिटोछरितो काम गरिदिएको भए सिंहदरबार आउनेको चाप स्वाटै घट्थ्यो ।
नेतृत्व गतिलो नहुँदा मुलुकको हालत कस्तो हुन्छ भनेर श्रीलंकाबाट सिकौं । जसरी माटो मुछेपछि जस्तो पनि भाडा बनाउने सकिन्छ । त्यसैगरी, नेताले चाह्यो भने मुलुक समृद्ध बनाउन सक्छ । देश सपार्ने कि बिगार्ने नेता र सरकारी कर्मचारीको हातमा हुन्छ । काम गर्न नसकेका कारण केही हुन्छ कि भन्ने त्रासले नेताहरु सुरक्षाको घेराभित्र हिड्छन् । सरकारी कर्मचारी भ्रष्ट्राचार मात्र गर्छन् । व्यापारीहरु हप्तैपिच्छे सामानको मुल्य बढाउछन् । अन्ततः मर्ने हामी नेपाली जनता ।