काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५३ औं स्थापना दिवसमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एक अर्कालाई घोचपेच गरेका छन् । कार्यक्रममा नेता पौडेलले अहिलेको गठबन्धन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मात्र नभएको टिप्पणी गरे ।
‘यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउन मात्र होइन, लोकतन्त्र बचाउनका लागि हो, परिवर्तन बचाउनका लागि हो र अग्रगामी रुपान्तरणका लागि यो गठबन्धन हो’ उनले भने । जवाफमा देउवाले आफूले प्रधानमन्त्री बनाइदेऊ भनेर रामचन्द्र पौडेलसँग नभनेको टिप्पणी गरे ।
‘मलाई प्रधानमन्त्री बनाइदेऊ भनेर मैले रामचन्द्रलाई भनेकै होइन’ उनले भने, ‘सबै साथीहरुले बन भन्नुभयो के गर्ने ?’
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हार्दा पनि गठबन्धनका कारण अहिले कांग्रेस सरकारमा सहभागी हुन पाएको देउवाले बताए ।
‘मैले के गल्ती गरेँ ? कांग्रेस पार्टीलाई सत्तामा ल्याउनु मेरो गल्ती हो ? मैले के बिगारेको छु, झन् रामचन्द्रले त मलाई धन्यवाद भन्नुपर्ने हो,’ देउवाले भने । पार्टीभित्र हरेक क्षेत्रमा भागबन्डा नखोज्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनले आग्रह पनि गरे ।
‘हरेक कुरामा भागबन्डा किन खोज्नुहुन्छ ? सबै कुरामा भागबन्डा खोज्नुहुन्छ । निर्वाचन गरेर स्वस्थ्य प्रतिस्पर्धा गरेर अघि बढौं । जसले जित्छ त्यसैले नेतृत्व लिन्छ,’ देउवाले भने । नेविसंघका नेताहरूलाई उनले पढाइमा पनि अब्बल हुन निर्देशन दिए । ‘अत्यन्तै प्रतिस्पर्धाको जमाना आयो । पढाइमा फेल हुने, अनि नेता बन्ने । यसरी कसरी देश हाँक्न सक्नुहुन्छ ?,’ देउवाले भने ।
कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपाल विद्यार्थी संघमा अध्यक्ष मात्र मनोनित गरिएको भन्दै अरु पदाधिकारी छिटो मनोनित गर्न आग्रह गरे । ‘नेविसंघको कमिटी अधुरो छ । पूरा हुनुपर्छ तुरुन्त । सबै पदाधिकारीसहित पूरा कमिटी आउनुपर्छ’ उनले भने । जवाफमा देउवाले अरु पदाधिकारी मनोनित नगर्ने संकेत गरे ।
स्थानीय निर्वाचन, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि नेविसंघको महाधिवेशन गर्ने गरी दुजाङ गुरुङ अध्यक्ष मनोनित भएका छन् । सभापति देउवाले अब दुजाङले नै अधिवेशन गरेर नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्ने बताए ।
‘रामचन्द्रजीले पदाधिकारी बनाउनुप¥यो भन्नुभयो, फेरि भागवण्डामै झगडा गर्ने हो भने गरे हुन्छ’ देउवाले भने, ‘मेरो उपसभापति चाहियो, मेरो महामन्त्री चाहियो, मेरो ऊ चाहियो, त्यहीँ झगडा हुन्छ ।’
सभापति देउवाले अब देश नेविसंघको हातमा आइसकेको भन्दै उनले देश हाँक्ने तयारी गर्न निर्देशन दिए । सबैभन्दा ठूलो कुरा एकता भएको भन्दै उनले भने, ‘असमझदारी हुन्छ । एकआपसमा मनमुटाव हुन्छ । त्यसलाई बिर्सिनुप¥यो नि । चुनाव हारेको भोलिपल्ट त्यसलाई बिर्सिहाल्नुप¥यो । हार स्वीकार्दैनन् कहाँबाट हुन्छ ।’