काठमाडौं । नेपाली कांग्रेसले जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर बनाउन खर्च नगर्ने प्रतिवद्धता जनाएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबार सार्वजनिक गरेको घोाणापत्रमा जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर, स्वागतद्धार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने संकल्प गरिएको छ ।
सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने कांग्रेसको संकल्प छ । कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने पनि कांग्रेसले बताएको छ ।
नेकपा एमालेले समृद्ध नेपालको राजनीतक भाष्य र कोरा विकासको मोडल बनाएको भन्दै कांग्रेसले भनेको छ, ‘समृद्ध नेपालको त्यो अवधारणामा व्यापक भौतिक विकास, ठूलाठूला पूर्वाधारका संरचना, अग्ला भवन, भ्यूटावर, भीमकाय एयरपोर्ट र हिमालमा रेल चढाउने लगायतका सपनाको व्यापार गरिएको छ ।’
यस्तो समृद्धिको आधारले देशले धान्नै नसक्ने अत्यन्त खर्चिलो भौतिक विकास भएको कांग्रेसले निष्कर्ष छ । ‘त्यस्तो विकासले जनताको शीरमा ऋणको भारी बोकाउँछ, प्राकृतिक स्रोतहरुको अवैज्ञानिक दोहन गरेर भावी पुस्तालाई समते जोखिममा पार्ने गरी पर्यावरणीय संकट निम्त्याउँछ ।’ निश्चित ठाउँमा जनसंख्याको केन्द्रिकरण गर्दै लैजाने, शहर र ग्रामिण, धनी र गरिब बीचको असमानताको खाडल अझ फराकिलो बनाउने कांग्रेसले बताएको छ ।
आफूले अघि सारेको समुन्नत नेपालको मार्गचित्र यो भन्दा भिन्न रहेको भन्दै कांग्रेसले भनेको छ, ‘समुन्नत नेपाल कुनै अमूर्त गन्तव्य नभएर जनताको सक्रिय सहभागितामा हुने राष्ट्र निर्माणको निरन्तर प्रक्रिया र अभियान हो ।’
समुन्नत नेपाल नागरिकलाई सबल, सक्षम र स्वतन्त्र बनाई देशलाई सम्पन्न बनाउने अवधारण भएको भन्दै कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सेवा प्रवाह, कृषि, उद्या र रोजगारी तथा स्थानीय पूर्वाधारमा अबको १० वर्षमा गर्ने कामको योजना अघि सारेको छ ।
कांग्रेसले नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोग नियुक्त नगर्ने बताएको छ । निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपारदर्शी वा अनुत्तरदायी रुपमा हचुवाको भरमा कुनै पनि निर्णय नगर्ने, कानुन, आर्थिक तथा वित्तीय उत्तरदायित्व तथा अनुशासन उल्लंघन नगर्ने , महिला हिंसा, जातीय विभेदलाई प्रत्साहन नगर्ने पनि कांग्रेसको संकल्प छ ।