बाजुरा । बाजुराको बडिमालिका नगरपालिका २ को वडाअध्यक्षमा ज्वाइँ–जेठान बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । ज्वाइँ डम्मरबहादुर महत नेकपा एमाले र जेठान गोपालबहादुर कार्की नेपाली कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
२०७४ सालको स्थानीय चुनावमा प्रतिस्पर्धा गरेका ज्वाइँ–जेठान यो पटक पनि आमनेसामने भएका हुन् ।
कार्की नेपाली कांग्रेस बडिमालिका नगर सभापतिसमेत हुन् भने महत एमाले जिल्ला कमिटी सदस्य तथा बडिमालिका नगर इन्चार्ज हुन् ।
२०७४ को स्थानीय चुनावमा कार्की ६ मतले पराजित भएका थिए । महतले २४२ मत र कार्कीले २३६ मत ल्याएका थिए। हाल बडिमालिका–२ मा ८०२ मतदाता छन् । कार्कीकी बहिनी र महतका कान्छा भाइबीच बैवाहिक सम्बन्ध छ ।