काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दावी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारुढ गठबन्धन बैशाख ३० गतेको स्थानीय तह निर्वाचनपछि समाप्त हुने बताएका हुन् ।
सोमबार ललितपुरको जावलाखेलमा पार्टीद्धारा आयोजित चुनावी सभामा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै यो गठबन्धनको गन्तव्य के हो भन्ने थाहा नभएको जिकीर गरे । यही प्रश्न प्रचण्डलाई सोध्यो भने उनले आफ्नी छोरीलाई भोट हाल्नु नै गठबन्धनको गन्तव्य हो भन्ने जवाफ दिने अध्यक्ष ओलीको कटाक्ष थियो ।
ओलीले मुलुकमा लुटलाट र हाटहुट गर्न सत्तारुढ गठबन्धन बनेको गम्भिर आरोप समेत लगाउनु भयो । उनले निर्वाचनको बेला आफ्ना पार्टीका कार्यकर्तामाथि गुण्डागर्दीको शैलीमा आक्रमण गर्ने काम सत्तारुढ दलहरुबाटै भएको भन्दै आक्रोश व्यक्त गर्नु भयो । सत्तारुढ गठबन्धनले जनतालाई तर्साउने काम गरिरहेको पनि ओलीले दोहार्याए ।